images
images

खारेका सुत्केरी महिलालाई वडा कार्यालयले दियो पोषण भत्ता, ५२ महिला लाभान्वित

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारेले चालु वर्ष १७ जना सुत्केरी महिलाहरुलाई पोषणभत्ता वितरण गरेको छ ।

गत वर्ष २०७९/८० देखि लागु भएको सुत्केरी पोषण भत्ता कार्यक्रम अन्तर्गत चालु वर्ष १७ जना सुत्केरीलाई नगद वितरण गरिएको हो । गौरीशंकर गाउँपालिका–८ नम्बर वडा कार्यालयले यो वर्ष सुत्केरी पोषण भत्ताका लागि २ लाख बजेट विनियोजन गरेकोमा हालसम्म १ लाख ७० हजार रुपैयाँ भत्ता वितरण गरिएको वडा अध्यक्ष दावारेन्जी शेर्पाले जानकारी दिनुभयो । वडा कार्यालयका अनुसार एक जना सुत्केरीले पोषण भत्ता वापत १० हजार रुपैयाँ पाएका छन् । गरिबी, आर्थिक अभाव लगायतका कारण सुत्केरी महिलाहरुले पोषण नपाउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था कमजोर भएकाले वडाले गत वर्षदेखि सुत्केरी पोषण भत्ता वितरण गर्दै आएको वडा अध्यक्ष शेर्पाले बताउनुभयो ।

यो कार्यक्रम अन्तर्गत गत वर्ष र चालु वर्षको हालसम्मको अवधिमा ५२ जना महिला लाभान्वित बनेका छन् । गत वर्ष १० जना महिलाले पोषण भत्ता लिएका थिए भने पोषण भत्ता अन्तर्गत १५ महिनासम्मका २५ जना सुत्केरी महिलाहरुलाई व्यवसाय सञ्चालनका लागि २५ हजारका दरले रकम वितरण गरिएको थियो । गत वर्ष सुत्केरी महिलाहरुको पोषण भत्ताको लागि गाउँपालिकाले ६ लाख र वडाले १ लाख गरी ७ लाख बजेट विनियोजन गरिएको थियो । चालु वर्ष भने वडाले व्यवसायका लागि नभई पोषणका लागि मात्रै १० हजारका दरले भत्ता वितरण गरेको छ ।

खारेका सुत्केरी महिलाहरुले सुत्केरी भएको एकसाताभित्र जन्मदर्ता गरेपछि वडाले पोषण भत्ता दिने गरेको छ । पोषण भत्ताले आर्थिक संकटका कारण समयमै पोषणयुक्त खानेकुराको व्यवस्था गर्न नसक्ने सुत्केरी महिलालाई राहत पुगेको स्थानीयले बताएका छन् । जिल्लाको उत्तरी दुर्गम गाउँ खारेका महिलाहरुको आर्थिक अवस्था समेत कमजोर रहेको छ । वडा अध्यक्ष शेर्पाले गाउँमै बसोबास गर्ने महिलाहरुलाई मात्रै सुत्केरी भत्ता दिने गरेको बताउनुभयो । स्थायी ठेगाना गाउँकै भएपनि गाउँभन्दा बाहिर बसोबास गर्ने सुत्केरी महिलाहरुले भने यो सुविधा नपाउने वडा कार्यालयले जनाएको छ ।