images
images

एमाले अध्यक्ष ओली आज प्रधानमन्त्री बन्दै, दिउँसो शपथ ग्रहण हुने

  • ३० असार २०८१, आईतवार ०८:०९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।

नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिअनुसार ओलीले आज चौथोपटक मुलुकको प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लाग्नु भएको हो । ओलीले शुक्रबार साँझ प्रधानमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न संसदमा रहेका दुई वा दुईभन्दा बढी दललाई आह्वान गर्नुभएको थियो । राष्ट्रपतिले दाबी पेस गर्न दिएको समयावधि हिजो साँझ ५ बजे सकिएको छ । प्रधानमन्त्री नियुक्त भएपछि दिउँसो  शपथग्रहण कार्यक्रम हुनेछ ।

यसअघि ओली २०७२ साल असोज २४ मा पहिलोपटक प्रधानमन्त्री बन्नु भएको थियो । त्यतिबेला ओली नेत्वको सरकार साउन ९ मा ढलेको थियो । २०७४ मा एमाले माओवादीसहित वाम गठबन्धनको बलमा ओली २०७४ फागुन ३ मा दुई तिहाइ सांसदको समर्थनमा दोस्रोपटक प्रधानमन्त्री बन्नु भएको थियो । नेकपाभित्रको विवाद चुलिँदै जाँदा र पार्टीभित्रै कमजोर बनेपछि ओलीले २०७७ साल पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गर्नुभएको थियो ।