
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपति पौडेलले सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिनुभएको थियो । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासहित १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी गर्नुभएको थियो ।
एमाले अध्यक्ष ओली चौथो पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको हो । यसअघि २०७२ साल असोजमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका एमाले अध्यक्ष ओली २०७४ सालको फागुन ३ मा दोस्रो पटक र २०७८ सालमा तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो । सोही अनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बन्नुभएको हो ।
सपथ ग्रहण लगत्तै मन्त्रीपरिषदलाई पुर्णता दिने तयारी
नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ ग्रहण भने भोली बिहान ११ बजेका लागि तय गरिएको छ । ओलीले शपथ ग्रहण लगत्तै मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ । सत्तासाझेदार दुई शीर्ष दलबीच कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय लिने सहमति भईसकेको छ । जसअनुसार एमालेका विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का भएको छ भने कांग्रेसले गृहमन्त्रीमा प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकलाई पठाउने तयारी गरेको छ ।
एमालेले अर्थ सहित भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमी व्यवस्था मन्त्रालय लिनेछ । कांग्रेसको भागमा गृह सहित रक्षा, उर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय परेको छ ।