काठमाडौँ । सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ ।
यही साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत भएको जानकारी दिनुभएको हो । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/८० को नयाँ तलवमान र ग्रेडस्वीकृत गरेको छ । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।
मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यसैगरी, बैठकले भदौ ९ मा संयुक्त राष्ट्रसंघको आयोजनामा बैककमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय गरेको छ भने विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर करिब १२ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
सरकारले जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि स्वीकार गरेको छ ।










