जिरी (दोलखा) । रामेछापको उमाकुण्ड गाउँपालिकामा एकै व्यक्तिलाई दोहोरो जन्मदर्ता गरेर दोहोरो नागरिकता लिनका लागि सिफारिस दिने वडाध्यक्ष पनि पक्राउ परेका छन् ।
दोहोरो सिफारिस दिने वडासचिवपछि उमाकुण्ड गाउँपालिका ४ प्रितिका वडाध्यक्ष ४५ वर्षीय मान बहादुर सुनुवारलाई पनि रामेछाप प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले साउन २२ गते दोहोरो सिफारिस लिएर नागरिकता बनाउन खोज्ने प्रितिकी निर्मला बस्नेत, उनकी आमा र वडासचिवलाई प्रक्राउ गरेको थियो । त्यसपछि जिल्ला अदालत रामेछापको आदेश अनुसार वडाध्यक्ष सुनुवारलाई पनि नियन्त्रणमा लिएको रामेछापका प्रहरी निरिक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । उनीहरुलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको रामेछाप प्रहरीले जनाएको छ ।
निर्मलाले आफ्नो जन्म मिति समेत परिवर्तन गरी दोहोरो जन्म दर्ता र त्यसपछि नागरिकता बनाउन लागेकी थिइन् ।










