हेटौँडा । सिन्धुलीमा वन अतिक्रमण तिव्र रुपमा भएको छ ।
बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुलीमा सबैभन्दा बढी ६ हजार ४ सय ४ दशमलव ८७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको हो । पछिल्लो समय सिन्धुलीमा सार्वजनिक जग्गा र वन क्षेत्रको अतिक्रमण गर्ने क्रम बढ्दै गएको छ । जिल्लामा हजारौँ हेक्टर वनक्षेत्र अतिक्रमण गरि बस्ती पनि बसेको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै, मकवानपुरमा ३ हजार ५५६ दशमलव ९६,चितवनमा १ हजार ६८८, रामेछापमा ४९५ दशमलव ५, काभ्रेपलाञ्चोकमा २५८, धादिङमा २४६ दशमलव ९६,नुवाकोटमा ९३ दशमलव ९४, सिन्धुपाल्चोकमा ७८ दशमलव ९०, दोलखामा ४४ दशमलव ८५, रसुवामा ३६ दशमलव २७, ललितपुरमा ३० र काठमाडौंमा १३ तथा हेक्टर बन क्षेत्र अतिक्रमणमा परेको छ ।
यसैबीच, दोलखामा १७ दशमलव १० हेक्टर अतिक्रमित जमिनलाई वन क्षेत्र कायम गरिएको छ । बागमती प्रदेशभर ४ हजार ५३४ वटा सामुदायिक वन, ३ हजार ३३६ कबुलियति वन, ४९ वटा धार्मिक वन र ६७३ वटा निजी वन रहेको निर्देशनालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०÷८१ सम्म अद्यावधिक तथ्यांक अनुसार हालसम्म बागमती प्रदेशमा १२ हजार ९४६ दशमलव ७९ हेक्टर वन क्षेत्र अतिक्रमण भएको हो ।
वन अतिक्रमणको एकीकृत तथ्यांक पहिलो पटक तयार पारेको डिभिजन वन अधिकृत रामकुमार भण्डारीले जानकारी दिनुभयो । व्यक्तिका अलावा स्थानीय तहहरुले भवन निर्माण र खेलकुद मैदानसहित अन्य पूर्वाधारका संरचना निर्माणका क्रममा बढी अतिक्रमण गरेका छन् ।
वन संरक्षण क्षेत्र २ वटा रहेको निर्देशनालयका सूचना अधिकारी गोविन्द अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बागमतीको कुल क्षेत्रफलको ५३ दशमलव ७३ प्रतिशत वन क्षेत्र रहेको छ । प्रदेश मन्त्रालय, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन, प्रहरी लगायतको सक्रियतामा मात्रै अतिक्रमण रोक्न र अतिक्रमित जमिन वन क्षेत्र कायम गर्न सम्भव हुने बताइएको छ ।
आवरण तस्वीरः कालिञ्चोकको कुरीमा अतिक्रमण गरी बनाइएका होटल तथा रिसोर्टहरु