images
images

दोलखामा दुई महिनाको अवधिमा २० जना मृत फेला

  • २९ भाद्र २०७९, बुधबार १२:५५

दोलखा । दोलखामा पछिल्लो दुई महिनाको अवधिमा आत्महत्या र भवितव्य घटनामा २० जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांक अनुसार जिल्लामा साउन र भदौ महिनाको हालसम्मको अवधिमा २० जनाले आत्महत्या र भवितव्य घटनामा ज्यान गुमाएका हुन् । उनीहरु जिल्लाका बिभिन्न स्थानमा आत्महत्या र भवितव्य घटनामा मृत फेला परेका हुन् । जसअनुसार साउन महिनामा ३ महिला, ५ पुरुष र एक बालक गरी ९ जनाले ज्यान गुमाएका छन् भने भदौ महिनाको हालसम्मको अवधिमा १० पुरुष र १ महिला गरी ११ जनाले बिभिन्न घटनामा अकालमै ज्यान गुमाएका हुन् ।

आत्महत्या गर्ने क्रम बढ्दै

दुई महिनाको अवधिमा भएका घटनामध्ये सबैभन्दा बढी ७ जनाले आत्महत्या गरेका छन् । जिल्लामा एक महिला र ४ पुरुष गरी ५ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने दुई जनाले बिष सेवन गरेका छन् । कालिञ्चोक गाउँपालिका ५ का पुरुष र महिला, जिरी नगरपालिका ८ र ९ का पुरुष र गौरीशंकर २ का एक पुरुष गरी ५ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार जिल्लाको कालिञ्चोक गाउँपालिका ५ का एक पुरुषले रिस आवेगमा बिष सेवन गरेर आत्महत्या गरेका छन् भने बैतेश्वर गाउँपालिका ३ का पुरुषले आर्थिक कारण आत्महत्या गरेको अनुसन्धानबाट खुलेको छ । झुण्डिएर, बिष सेवन गरेर आत्महत्या गर्नुको कारण रिस आवेगलाई नियन्त्रण गर्न नसक्नु, आर्थिक अभाव लगायत प्रमुख रहेको अनुसन्धानबाट खुलेको दोलखाका प्रहरी प्रबक्ता, प्रहरी निरीक्षक राजेश सिग्लेदले जानकारी दिनुभयो ।

कोरोना महामारीले ल्याएको आर्थिक संकट, बेरोजगारी लगायत समस्याले मानसिक समस्या बढाउने र कुनै कुरामा रिस र आवेग बढेपछि आत्महत्याको भाव मनमा पैदा हुने अनुसन्धानले देखाएको छ । कुनै पनि मानिसले आत्महत्या गर्नुअघि केही न केही अभिव्यक्ति दिईरहने हुनाले यसको रोकथामका लागि घर, परिवार र समाजको भूमिका समेत महत्वपूर्ण हुने प्रहरी निरीक्षक सिग्देलको भनाई छ ।

भवितव्यबाट १३ जनाले ज्यान गुमाए

जिल्लामा लडेर, डुबेर, करेन्ट लागेर, आगलागी, ढुंगाले किचेर लगायतका भवितव्यबाट १३ जनाले ज्यान गुमाएका छन् । प्रहरीकाअनुसार जिल्लामा भीरबाट लडेर ४ जनाको मृत्यु भएको छ । भीरबाट लडेर भीमेश्वर नगरपालिका ७, बैतेश्वर गाउँपालिका ६, कालिञ्चोक गाउँपालिका १ का पुरुष र जिरी नगरपालिका ८ की महिलाको मृत्यु भएको हो । यस्तै, जिरी नगरपालिका ६ र ८ का दुई जनाको खोलाले बगाएर मृत्यु भएको प्रहरीको तथ्यांकले देखाएको छ । दोलखामा पानीमा डुबेर बाजुरा र रामेछापको उमाकुण्ड गाउँपालिका १ का पुरुषको ज्यान गएको छ ।