जिरी(दोलखा) ।अपर तामाकोशी हाइड्रोपावरमा कार्यरत स्थानीय कर्मचारीले सेवा सुविधामा विभेद गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनीहरुलाई जिल्ला बाहिर र जिल्लाबासी कर्मचारीलाई दिइने सेवा सुविधामा कम्पनी विभेद गरेको भन्दै संघर्ष गर्ने चेतावनी दिएका हुन् । अपरका कर्मचारीहरुले बेला—बेला विभिन्न विषयलाई लिएर असन्तुष्टि जनाइरहेकै हुन्छन् । ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजना निर्माण गरेकै कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
जहाँ दोलखा जिल्ला भित्र र जिल्लाबाहिरका मजदुर तथा कर्मचारीहरु कार्यरत छन् । यही क्रममा सो कम्पनीमा कार्यरत जिल्लाका कर्मचारीहरुले माग पुरा गर्न भन्दै भदौ २८ गतेदेखि असोज ३ गतेसम्म अल्टिमेटम दिएका छन् । तोकिएको अवधिभित्र आफुहरुको माग पुरा नभए संघर्षका कार्यक्रम गर्ने स्थानीय दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समितिले जनाएको छ ।
उनीहरुले विगत दुई वर्षदेखि कम्पनीमा कार्यरत जिल्लाबासी र जिल्लाबाहिरका कर्मचारीबीच विभेद गरेको बताएका छन् । सेवा—सुविधा कटौती भएका कर्मचारीको असोज ३ गतेसम्म मिलान गर्न समितिले माग गरेको छ ।
हिजो अपर तामाकोशीका प्रमुख कार्यकारी अधिकृतलाई अल्टिमेटम पत्र बुझाउँदै कर्मचारीहरुले कम्पनी व्यवस्थापनसँग गरिएको सहमतिअनुसार सेवा सुविधामा विभेद नगरी आफ्ना मागहरु असोज ३ गतेभित्र पूरा गर्न अल्टिमेटम दिएका हुन् ।