images
images

प्रधानमन्त्री देउवाले जसपाका ४ मन्त्री हटाउँदा कांग्रेसका ३ मन्त्री बर्खास्त

  • २८ आश्विन २०७९, शुक्रबार १८:११

पछिल्लो २४ घण्टामा ७ मन्त्री पदमुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारैजना मन्त्रीलाई हिजो बर्खास्त गरेसँगै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको हो । आज जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले कांग्रेसबाट सरकारमा मन्त्री रहेका तीन जनालाई हटाएको नेता मनिष सुमनले जानकारी दिनुभयो ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर, राजीनामा नदिएपछि बर्खास्त गरेको बुझिएको छ । तीनै जना मन्त्री २०७८ सालको जेठ २६ गते नियुक्त भएका थिए ।

यसअघि जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेसँगै प्रधानमन्त्रीले जसपाका ४ मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गर्नुभएको हो ।

जसपाबाट उनीहरु गत असार २० गते मन्त्री भएका थिए । जसपाले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर उनीहरुलाई सरकारमा पठाएको थियो ।