काठमाडौं । निर्वाचन आयोगले १ लाख ४८ हजार अस्थायी मतदाता सुचीकृत गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले अस्थायी मतदान केन्द्रका मतदाता सुचीमा १ लाख ४८ हजार अस्थायी मतदाता सुचीकृत गरेको हो । उनीहरुले प्रतिनिधिसभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउनेछन् । संघ, प्रदेश र स्थानिय तहका कर्मचारी, तीनै तहको सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका सुरक्षाकर्मी। कारागारमा रहेका थुनुवा, कैदी र वृद्धाश्रममा रहेकालाई लक्षित गरेर अस्थायी मतदान स्थल राख्न लागिएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो । मुलुकभर २५ हजार ९ सय ६ जना कैदीबन्दी भएपनि मतदाता सुचीमा सुचीकृत नभएकै कारण मतदाता न्युन रहेका छन् । केन्द्रिय कारागार सुन्धारामा ३ हजार ४ सय कैदी रहेकोमा मतदाता २० जना मात्रै रहेको कारागार विभागले जनाएको छ । आयोगले अस्थायी मतदाता यकिन गरेपनि कैदीबन्दी, सुरक्षाकर्मी, कर्मचारी र वृद्धाश्रममा रहेका वृद्धवृद्धा कति छन् छुट्याएर सावर्जनिक गरेको छैन । मतदाता नामावली ऐनमा अस्थायी मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ मतदान गर्न सकिने व्यवस्था भएपनि आयोगले प्रतिनिधिसभामा मात्रै मतदान गर्न पाउने व्यवस्था गरेको हो ।










