images
images

निर्वाचनको बेला तीन दिन बिदा दिन आयोगको सिफारिस

  • २८ कार्तिक २०७९, सोमबार ०८:११

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन आयोगले सरकारलाई सिफारिस गरेको हो । आयोगले मंसिर २, ४ र ५ गते सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन प्रस्ताव गरेको छ । मंसिर ३ गते भने शनिबार परेको छ । केही दिनअघि नै आयोगले सो सम्बन्धी निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ । बिदाबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्नेछ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो । यो पटक आइतबार मतदान हुँदैछ । आयोगको सिफारिस कार्यान्वयन भएमा शनिबार समेत गरी लगातार चार दिन बिदा हुनेछ ।

आयोगले अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव गरेको आयोगका उच्च अधिकारीहरुले बताएका छन् । निर्वाचन आयोगको सिफारिसअनुसार बिदासम्बन्धी निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयले भने मंसिर १ गतेदेखि ५ गतेसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।