images
images

आम निर्वाचन ६ दिन बाँकी, यसरी गरौं सहि तरिकाले मतदान

  • २८ कार्तिक २०७९, सोमबार ०९:४१

आम निर्वाचनका लागि अब ६ दिन मात्रै बाँकी छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्नका लागि निर्वाचन हुन लागेको हो । मतदान गर्दा सही तरिकाले मतदान गरिएन भने मत रद्ध पनि हुन सक्छ । दोलखाकै कुरा गर्दा स्थानीय तहको निर्वाचनमा पनि धेरै मतबदर भएको छ । बदर मतकै कारण उच्च प्रतिश्पर्धा भएका स्थानमा कतिपय उम्मेदवार पराजित समेत हुनपुगेका छन् ।

मतदान गर्ने सहि तरिका

पहिलो चरणमा प्रतिनिधिसभाको पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभुमिमा रातो रङको निर्वाचन चिन्ह छापिएको पहिलो मतपत्र लिनुपर्छ । त्यसपछि स्वतिक छापले कुनै एक उम्मेवारको निर्वाचन चिन्हमा मत सङकेत गर्नुपर्छ । मत संकेतपछि मतपत्र सही तरिकाले पट्याउनुपर्छ र सेतो पृष्ठभुमिमा रातो रङले १ लेखिएको स्टिकर भएको मतपेटिकमा मतपत्र खसाल्नुपर्छ ।

यसैगरी दोस्रो चरणमा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह छापिएको दोस्रो मतपत्र लिनुपर्छ । त्यसमा स्वस्तिक छापले आफुले चाहेको कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मत संकेत गरेपछि मतपत्रलाई सही तरिकाले पट्याएर सेतो पृष्ठभूमिमा कालो रङले ‘२’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुपर्दछ ।

यस्तै, तेस्रो चरणमा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह छापिएको तेस्रो मतपत्र लिनुपर्दछ । आफुले लिएको सो मतपत्रमा कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्दछ । त्यसपछि मतपत्र सही तरिकाले पट्याएर सेतो पृष्ठभूमिमा रातो रङले ३ लेखिएको स्टिकर भएको मतपेटिकामा मत खसाल्नुपर्छ ।

चौथो अर्थात अन्तिम चरणमा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह छापिएको चौथो मतपत्र लिनुपर्दछ । सो मतपत्रमा स्वस्तिक छापले आफुले चाहेको कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्दछ । त्यसपछि सोही मतपत्रलाई सही तरिकाले पट्याएर सेतो पृष्ठभूमिमा कालो रङले ४ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ र मतदात केन्द्रबाट बाहिरिनुपर्छ ।