images
images

चुनाव लडेका र बहिष्कार गरेका नेताबीचको भेटवार्ताः विजयी हुन कार्कीलाई खड्काको शुभकामना

  • २८ कार्तिक २०७९, सोमबार १३:४०

दोलखा । दोलखाबाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की बिश्वलाई माओवादी जनयुद्धका संस्थापक नेता पूर्णबहादुर खड्काले विजयी प्राप्त गर्नका लागि शुभकामना दिएका छन् ।

चुनावी प्रचार प्रसारका क्रममा तामाकोशी गाउँपालिकाको मालू स्थित डाँडागाउँ पुगेका उम्मेदवार कार्कीलाई जनयुद्धका संस्थापक नेता खड्काले शुभकामना दिएका हुन् । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य समेत रहेका नेता खड्काले आफुहरुले निर्वाचन बहिष्कार गरेपनि उम्मेदवार कार्कीमाथि शुभेच्छा र सम्मान रहेको भन्दै शुभकामना दिएका थिए । खड्काको निजी निवासमा भएको भेटमा दुबै नेता भाबबिह्वल भएका थिए । उनीहरुको भेटपछिको तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेको छ ।

दोलखामा माओवादी जनयुद्ध सुरु गर्दा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कार्की र खड्का सहित पाँच जना नेता डिटोनेटर कब्जा गरेर एकैसाथ भूमिगत भएका थिए । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहेका कार्की नेपाली कांग्रेश, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट चुनावी मैदानमा छन् भने माओवादी केन्द्रबाट अलग्गिएका पूर्णबहादुर नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्यको जिम्मेवारीमा छन् । नेकपा क्रान्तिकारी माओवादीले आसन्न निर्वाचन बहिष्कारको घोषणा गरेको छ ।