जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ ।
नवनिर्मित वडा कार्यालय भवनको आज बागमती प्रदेशका वन तथा वातारण मन्त्री विशाल खड्काले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो । गत असारमै निर्माण सम्पन्न भएको वडा कार्यालय भवनको आज बाजागाजासहितको कार्यक्रमको आयोजना गरी उद्धघाटन गरिएको छ । जिरी नगरपालिकाको बजेट र जनश्रमदान सहित करिब ९० लाखको वडा कार्यालय भवन निर्माण गरिएको जिरी ८ का वडाध्यक्ष कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । दुई तले नवनिर्मित वडा भवनमा ८ वटा कोठा र एउटा बैठक हल रहेको छ । यो सँगै जिरी नगरपालिकाको ९ वटै वडा कार्यालय भवनको उद्धघाटन भएको छ ।
भवन उद्धघाटन कार्यक्रममा जिरी नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकी (खड्का), जिरी २ का वडाध्यक्ष निमपोल्दे शेर्पा, नेकपा एमाले जिरी नगरकमिटिका अध्यक्ष केशवकुमार कार्की, नेकपा माओवादी केन्द्र जिरी नगर कमिटिका इन्चार्ज तेजबहादुर गोले, नेपाली कांग्रेस जिरीका झपड योगी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।