images
images

विमान दुर्घटनाको छानबिन गर्न आयोग गठन, भोली शोक विदा दिईने

  • १ माघ २०७९, आईतवार १४:३०

काठमाडौँ । सरकारले पोखरामा आज भएको यति एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको आकस्मिक बैठकले पुर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन जाँचबुझ आयोग गठन गरिएको सरकारले जनाएको छ । आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दिपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग रहेका छन् । छानविन आयोगको सदस्यसचिवमा संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बृद्धिसागर लामिछाने रहेको सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

सरकारले विमान दुर्घटनाको शोकमा भोली सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफनत सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने सरकारले निर्णय गरेको छ । विमान दुर्घटनामा परेकाहरुको प्रार्थिव शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने उपप्रधानमन्त्री पौडेलले जानकारी दिनुभयो । काठमाडौंबाट पोखराका लागि उडेको ७२ जना सवार विमान दुर्घटना भएको थियो विमान उडेको १८ मिनेटमै दुर्घटनामा परेको पाइएको छ ।