काठमाडौँ । मुलुकका विभिन्न स्थानमा करिब डेढ महिनापछि हिउँदे वर्षा हुने भएको छ ।
पश्चिमी वायु र बंगलादेशको दक्षिण आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले आजदेखि तीन दिनसम्म नेपालका विभिन्न स्थानमा करिब डेढ महिनापछि पानी तथा हिउँ पर्ने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने भएको छ । एक्कासी बदलिएको मौसमसँगै दोलखामा पनि चिसो बढेको छ । दोलखाको उच्च हिमाली क्षेत्रको आकाशमा कालो बादल मडारिएको छ । चिसो बढेसँग हल्का वर्षा हुने अनुमान गरिएको छ ।
कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुुसार बाँकी स्थानमा आंशिकदेखि साधारणयता बदली रहनेछ । मंसिर १९ गते यता नेपालका कुनै पनि स्थानमा हालसम्म पानी नपरेको मौसमविद् पुडासैनीले बताउनुभयो ।










