
दोलखा । दोलखाको जिरी नगरपालिका स्थित पटासेमा एक बृद्धको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।
दोलखा प्रहरीले जिरी नगरपालिका २ स्थित पटासेका एक बृद्धको हत्या अभियोगमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरेको हो । हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हत्या आरोपमा पक्राउ परेका जिरी नगरपालिका–२ का ६६ वर्षीय धनबहादुर तामाङ उनकी श्रीमती गंगामाया तामाङ र वडा नम्वर ४ को ५२ वर्षिय शान्ता जिरेललाई आज दोलखा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाईएको हो ।
यस्तो थियो घट्ना
जिरी नगरपालिका २ पटासेका ६१ वर्षीय होम्बा तामाङ आईतबार आफ्नै घरमा मृत फेला परेका थिए । मृतक तामाङको उच्च रक्तचापका कारण मृत्यु भएको भन्दै दाहसंस्कारको तयारी गरिएका बेला जेठा छोराले हत्याको आशंकामा जाहेरी दिएपछि प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
उनको २६ गते नै हत्या भएपनि २८ गते मात्रै शव फेला परेको थियो । मृतक तामाङ घरमा एक्लै बस्ने भएकाले दुई दिनसम्म उनको मृत्युबारे खवर आउन नसकेको दोलखा प्रहरीले जनाएको छ । घटनाको दुई दिन पछि एक छिमेकी कुकुरको छाउरो लिन आउँदा मात्रै उनको मृत्युबारे थाहा भएको थियो ।
तामाङलाई चिर्पटले हानेर हत्या गरिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । दोलखा प्रहरीका अनुसार पक्राउ परेका धनबहादुरले प्रहरीसँगको बयानका क्रममा आँफुले होम्बालाई चिरपट प्रहार गरेको स्वीकार गरेका छन् । उनले प्रहरी समक्ष आफुहरु तीनै जना दिनभर भैँसी खोज्न निस्किएपनि श्रीमती घर नफर्किएपछि हेर्न जाँदा होम्बाको घरमा फेला परेपछि आवेशमा आएर उनलाई चिरपट प्रहार गरेको स्वीकार गरेका हुन् ।
धनबहादुरले हत्या स्वीकार गरेको र श्रीमती गंगामाया र शान्ता पनि उनीसँगै रहेका कारण तीनै जनालाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाईएको प्रहरी निरिक्षक अधिकारीले बताउनुभयो ।