images
images

रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी मुद्धामा ६० लाख धरौटी

  • २ माघ २०८१, बुधबार १७:२४

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी मुद्धामा धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेक बहसपछि लामिछानेलाई ६० लाख धरौटी तोकिएको हो । आईतबारदेखि चलेको बयान र बहस सकिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको ईजलाशले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । यो सँगै लामिछानेले अब हिरासत बाहिरै बसेर मुद्धाको पुर्पक्ष गर्न पाउने भएका छन् ।

कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि लामिछाने गत आईतबार अदालतमा उपस्थित भएका थिए । ८४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने बिहिबार मात्रै कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

स्वर्ण लक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा कानुन विपरित ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निश्कर्ष छ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाईएको छ ।