काठमाण्डौं । दुई किलो भन्दा बढी युरेनियम सहित सिन्धुपाल्चोकका एक सहित ८ जना काठमाण्डौंबाट पक्राउ परेका छन् ।
प्रहरीले दुई किलो आठ सय ग्राम युरेनियम जस्तो देखिने पदार्थसहित काठमाडौंबाट आठ जनालाई पक्राउ गरेको हो । प्रतिकिलो ३५ करोड रुपैयाँमा बिक्री गर्न लागिएको सूचनाका आधारमा प्रहरीले बौद्धस्थित ह्यायत रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट सो युरेनियम बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी प्रधान कार्यालयबाट सादा पोशाकमा परिचालित टोलीले प्रहरी आफै ग्राहक बनेर भुपेन्द्रबहादुर खड्का र नवराज महतलाई युरेनियमसहित नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई सोधपुछ गर्ने क्रममा युरोनियम जस्तो देखिने पदार्थलाई भारतबाट ल्याएर प्रतिकिलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूकै बयानका आधारमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४ घर भइ काठमाडौं महाँकाल बस्दै आएका ४० वर्षीय रामकृष्ण लामिछाने सहित अन्य ५ जना पनि पक्राउ परेका हुन् । उनीहरूको साथबाट कार, मोटरसाइकल लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्र्तगत मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।