
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाले कटुवाचौरका आगलागी पीडीतलाई प्रति घरपरिवार एक लाख रुपैँया राहत उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले वडा नम्बर ९ कटुवाचौरका आगलागी पीडीतलाई प्रति घरपरिवार एक लाख रुपैँया र आगलागीका कारण व्यवसायमा क्षति व्यहोरेकाहरुलाई प्रतिव्यवसायी २० देखि २५ हजारसम्म राहत रकम उपलब्ध गराउने भएको हो । त्यसका लागि पीडीतले पालिकामा निवेदन दिनुपर्नेछ । निवेदनका आधारमा उनीहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार विपद तथा राहत वितरण कार्यविधि अनुसार आगलागी पीडीतलाई राहत रकम उपलब्ध गराईनेछ । गत माघ १९ गतेराति कटुवाचौर बजारमा आगलागी हुँदा ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएका थिए ।
स्थानीय रुद्रबहादुर ओलीको घरबाट सुरु भएको आगोले गोपिलाल थामी, रामबहादुर थामी, शंकर ओली, पुष्कर ओली, सन्तोष सेढाई, दुर्गा ओली, चित्र प्रसाद सेढाई र नवराज सेढाईको पक्की घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो । आगलागी भएका घरमा व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुको पसल तथा होटल जलेको थियो । सबैघरको माथि जस्तापाता लगाइएकाले आगो नियन्त्रण बाहिर जाँदा करौडौंको क्षति भएको थियो ।आगलागीबाट ३० वटा पशुचौपायामा पनि क्षति भएको छ । आगलागी पीडीतका लागि गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामाग्री तत्काल उपलब्ध गराए पनि राहत रकम भने अहिलेसम्म उपलब्ध गराएको छैन ।
कालिञ्चोक गाउँपालिकाले बागमती प्रदेश सरकारलाई पनि आगलागी पीडीतलाई सहयोगका लागि अनुरोध सहितको पत्र पठाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले आगलागी पीडीतका लागि सरकारले सहयोग गर्ने बताएपछि गाउँपालिकाले प्रदेश सरकारलाई पनि पत्राचार गरेको हो । यसअघि जिल्ला विपद व्यवस्थापन समिति दोलखाले घटना लगत्तै स्थानीयलाई प्रतिपरिवार १० हजार राहत स्वरुप उपलबध गराएको थियो भने पुनः१५ हजार पीडीत परिवारलाई दिने निर्णय भएको दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेलले जानकारी दिनुभयो ।