images
images

माओवादी केन्द्रको केन्द्रीय समिति १९९, केन्द्रीय कार्यालय ११ जनाको हुने

  • ३ फाल्गुन २०८०, बिहीबार १६:४७

काठमाडौँ । नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ।  माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो ।

३ दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो घोषणा गर्नुभएको हो । अध्यक्ष प्रचण्डले ११ जनाको केन्द्री‍य कार्यालय बनाउने निर्णय भएको जानकारी पनि दिनुभयो । नेकपा माओवादी केन्द्रको पार्टी समिति अव खुल्ला निर्वाचनबाट आउने छ। खुल्ला निर्वाचनबाट आउने समितिले नेतृत्व चुन्ने भएको छ। माओवादीले हाल रहेका जिल्ला समन्यव समितिलाई प्रदेशबाट अधिकार थप्ने निर्णय पनि गरेको छ।

नेकपा माओवादी केन्द्रले आफ्नो नाम र चुनाव चिह्न नफेर्ने निर्णय गरेको छ। माओवादी केन्द्रले चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार आगामी चैत १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण अभियान चलाइने छ । जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइने छ ।  त्यसैगरी हिमाल पहाड तराई राष्ट्रिय एकता अभियान पनि सञ्चालन गरिने छ ।  उत्तर–दक्षिण भनिएको उक्त अभियान वैशाख १ देखि १५ सम्म सञ्चालन हुने छ ।