images
images

जिरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, वडा अध्यक्षले दुर्व्यवहार गरेको आरोप

  • ३ फाल्गुन २०८०, बिहीबार १७:१६

जिरी (दोलखा) । जिरी अस्पतालमा एक जना विरामीको उपचारको विषयलाई लिएर वडा अध्यक्षले दुव्र्यवहार गरेको भन्दै अस्पतालका डाक्टरसहितका स्वास्थ्यकर्मीहरुले बिरोध जनाएका छन् ।

जिरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम भनिने कृष्णकुमार खत्रीले जिरी अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर रञ्जित झा सहित ड्युटिमा खटिएका डाक्टर तथा आकस्मिक कक्षमा खटिएका स्वास्थ्यकर्मीलाई दुव्र्यवहार र गालिगलौज गरेको भन्दै स्वास्थ्यकर्मीहरुले सामूहिक बिज्ञप्ति जारी गरेका छन् । वडा अध्यक्ष खत्रीले मदिरा सेवन गरी अभद्र र अपमानजनक भाषाको प्रयोग गरेको बिज्ञप्तिमा उल्लेख छ । स्वास्थ्यकर्मीहरुले वडा अध्यक्ष खत्री माथि आवस्यक कारवाही नभए एक सातापछि बिरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

बुधवार अर्थात हिजो राती विष सेवन गरी बिरामी परेर अस्पताल लगिएका जिरी नगरपालिका–८ का जीवन खत्रीलाई थप उपचारकालागि काठमाडौं लैजान एम्वुलेन्स उपलव्ध नभएपछि वडा अध्यक्ष खत्री, बिरामीका परिवारजन र अस्पतालका मेसु सहितका स्वाथ्यकर्मी वीच विवाद भएको थियो । विष सेवन गरीररहेका बिरामीको उपचार भइरहेको र थप उपचारकालागि काठमाडौं लैजान जिरी नगरपालिका वडा नम्बर १ को एम्वुलेन्स झिकाइसकेको अवस्थामा वडा अध्यक्ष खत्रीले अनावश्यक गालीगलौज र अभद्र व्यवहार गरेको डाक्टर झाले बताउनुभयो । उहाँले जिरी अस्पतालका दुवै एम्वुलेन्स बिरामी लिएर काठमाडौं गएका कारण विष सेवन गरेका किशोरलाई काठमाडौं लैजान अस्पतालले स्यामादेखि अर्को एम्वुलेन्स झिकाएको बताउनुभयो ।

यता, जिरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कृष्णकुमार खत्रीले विष सेवनगरी बिरामी परेका आफ्नो वडाका किशोरको उपचारमा लापरवाही भएको र उनलाई काठमाडौं लैजान एम्वुलेन्सको समेत व्यवस्था नभएका कारण आफुले चासो व्यक्त गरेको प्रतिक्रिया दिनुभयो । राति १० बजे अस्पताल पुग्दा विरामीको उपचारमा डाक्टर नभेटिएको र एम्वुलेन्सको समेत व्यवस्था नभएको बिषय मेसुलाई राख्दा गैर जिम्मेवार जवाफ दिएको वडा अध्यक्ष खत्रीको भनाई छ । अस्पतालको दुवै एम्वुलेन्स उपलव्ध नहुँदा चासो राख्नु आफ्नो कर्तव्य भएको खत्रीले बताउनुभयो ।