images
images

७१ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोक र काभ्रेपाल्चोकका दुई पुरुष पक्राउ

  • ३ फाल्गुन २०८१, शनिबार ०६:२०

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ७१ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोक र काभ्रेपाल्चोकका दुई पुरुष पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका– २ दुवाकोट बस्दै आएका ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपाल्चोक नमोबुद्ध नगरपालिका– ४ घर भई हाल बनेपा नगरपालिका– ६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी पक्राउ परेका हुन् । अधिकारी र थापाले १४ जना व्यक्तिबाट ७१ लाख ७० हजार ठगी गरेको आरोप छ । उनीहरु दुई जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।

क्यानडा, अजरबैजान र मोरिसस लैजाने भन्दै दुवैले रकम संकलन गर्न थालेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ । थापा र अधिकारीबाट अरु ठगीमा परेका भए भक्तपुर प्रहरीमा आएर जाहेरी दिन पनि प्रहरीले आह्वान गरेको छ ।