
काठमाडौँ । पोखरा भ्रमण वर्षको उदघाटनका क्रममा अर्थमन्त्री विष्णु पौडेले र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाईते भएका छन् ।
पोखरा रंगशालामा बेलुन उडाएर भ्रमण वर्षको उद्धघाटन गर्ने क्रममा सो दुर्घटना भएको हो । ईलेक्ट्रिक स्वीच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेले घाईते भएको बताईएको छ ।
दुवै जनालाई उपचारका लागि काठमाडौँ ल्याईएको छ । अर्थमन्त्री पौडेलको हात र अनुहारमा चोट लागेको सचिवालयले जनाएको छ । घाईते भएका अर्थमन्त्री पौडेललाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौँ ल्याईएको हो । उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको छ ।
कार्यक्रमको उद्धघाटनका क्रममा प्रमुख अतिथिहरु नै घाईते भएपछि कार्यक्रम केहीबेर प्रभावित भएको थियो । हाल पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेको उपस्थितिमा उद्धघाटन कार्यक्रम भईरहेको छ । पोखरा महानगरले सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको हो ।