images
images

स्थानीय तहको कार्यसम्पादन मूल्यांकनः दोलखामा भीमेश्वर र जिरीले पाए सबैभन्दा बढी अंक

  • ३ फाल्गुन २०८१, शनिबार १५:५१

दोलखा । प्राकृतिक स्रोत तथा वित्त आयोगले दोलखा सहित देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार दोलखाका स्थानीय तहहरुको तुलनामा भीमेश्वर नगरपालिका र जिरी नगरपालिकाले सबैभन्दा बढी अंक पाएका छन् । जसअनुसार भीमेश्वरले ६२.८ र जिरीले ६२.४ अंक पाएका छन् । यस्तै, बैतेश्वर गाउँपालिकाले ५९.१, मेलुङ गाउँपालिका ५८.८, शैलुङ गाउँपालिका ५६.७, गौरीशंकर गाउँपालिकाले ५५.२ अंक पाएको प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । आयोगका अनुसार तामाकोशी गाउँपालिकाले ४८.५, कालिञ्चोक गाउँपालिकाले ४३.६ र बिगु गाउँपालिकाले ३१.३ अंक पाएका छन् ।

आन्तरिक आम्दानीको प्राप्ति, विभाज्य कोषमा दाखिला भएको रकम, विनियोजन अनुसारको खर्च बजेट, बेरुजु, आवधिक योजना निर्माणको अवस्था, शैक्षिक र स्वास्थ्य गतिविधि लगायत मूल्यांकन गरेर नतिजा निकालिएको हो । आयोगले स्थानीय तहको कार्यसम्पादन मुल्यांकनका लागि १७ वटा सूचकहरु निर्धारण गरेको छ । सोही सूचकका आधारमा कार्यसम्पादन मुल्यांकनका आधारमा स्थानीय तहहरुले सो अंक प्राप्त गरेका हुन् ।

नेपाल सरकारले आर्थिक वर्ष ०८२÷०८३ का लागि आयोगको सिफारिसमा प्रदान गर्ने वित्तीय समानीकरण अनुदानभित्र कार्यसम्पादनमा आधारित अनुदान सिफारिस प्रयोजनका लागि सो मूल्यांकन गरिएको आयोगले जनाएको छ । माघ ३० गते नतिजा सार्वजनिक गर्दै आयोगले सो नतिजा चित्त नबुझेका स्थानीय तहहरुले सात दिनभित्र ठोस प्रमाणसहित निवेदन दिन भनेको छ ।