
जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाले आयोजना गरेको जिरी भ्रमण वर्ष सन् २०२५ आजदेखि औपचारिक रुपमा सुरु भएको छ ।
जिरी नगरपालिकाले सन् २०२५ भर विविध कार्यक्रमगरी मनाउन लागेको भ्रमण वर्षको आज औपचारिक रुपमा उद्घाटन गरिएको हो । नगरप्रमुख मित्र बहादुर जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिरी भ्रमण वर्षको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो । जिरी भ्रमण वर्षको उद्घाटन गरिरहँदा नगरपालिकाले जिरीको पर्यटकीय तथा धार्मिकस्थल, जातजाति, भेषभूषा, सहनसहनलाई समेत समेटिएर तयार पारेको पुस्तकको समेत विमोचन गरिएको छ भने पर्यटकीय सूचना केन्द्रको उद्घाटन गरिएको छ ।
नाचगान, झाँकी, र्याली सहित धुमधामका साथ भव्य नागरिकहरुको सहभागीतामा भ्रमण वर्षको आज उद्घाटन गरिएपनि बाँकी कार्यक्रमहरु वर्षभर सञ्चालन हुनेछन् । जिरी नगरपालिकाले भ्रमण वर्ष अवधिभर ५० हजार पर्यटक भित्र्याउने र २५ करोड बराबरको आर्थिक क्रियाकलाप गर्ने लक्ष्य राखेको छ ।
भ्रमण वर्षमा कृषि मेला, खेलकुद सप्ताह, गुरास मेला, ढुङगेश्वरी मेला, हनुमन्ते मेला, स्ट्रिट फुड फेष्टिवल लगायतको आयोजना हुनेछ ।