मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा जारी आईसीसी टी–२० विश्वकपको महत्वपूर्ण भिडन्तमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजका बलरहरू नेपाली ब्याटरमाथि पूर्ण रूपमा हाबी देखिएका छन् ।
टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजको निर्णयलाई सही सावित गर्दै क्यारेबियन बलरहरूले सुरुवातदेखि नै नेपाललाई दबाबमा राखेका हुन् । पावर प्लेभित्रै तीन जना मुख्य ब्याटरलाई सस्तैमा गुमाएको नेपालका लागि सातौँ ओभरको तेस्रो बलमा आरिफ शेख पनि व्यक्तिगत २ रनमै आउट भएपछि संकट थप गहिरिएको छ । अनुभवी मानिएका आरिफ ८ बल खेल्दा क्रिजमा टिक्न नसकेपछि नेपाली इनिङ्स धराशायी बन्न पुगेको हो ।
नेपालको ब्याटिङ अर्डरको सुरुवातमै आएको पहिरोमा ओपनर कुशल भुर्तेल मात्र १ रनमा बोल्ड भए भने आशिफ शेखले ११ रनको छोटो योगदान दिएर पभेलियन फर्किए । कप्तान रोहित पौडेलले पनि क्रिजमा जम्ने संकेत देखाए तापनि ५ रनमै एलबीडब्लुको धरापमा परेपछि नेपाल १७ रनको स्कोरमा ३ विकेट गुमाएको नाजुक अवस्थामा पुगेको थियो ।
ताजा स्थिति अनुसार, आठ ओभरको खेल सकिँदा नेपालले ४ विकेटको क्षतिमा जम्मा २७ रन मात्र जोड्न सकेको छ । यतिबेला क्रिजमा दीपेन्द्र सिंह ऐरी र लोकेश बमले सावधानीपूर्वक खेल्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याउने कठिन संघर्ष गरिरहेका छन् ।



हाम्रो अपडेट 






