काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकीय साझेदारीमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो । सातौँ विकेटका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिले ५४ रनको साझेदारी गरेपछि नेपाली टोली सम्हालिएको थियो। दीपेन्द्रले बनाएको ५८ रन नै नेपाली टोलीका लागि सर्वाधिक रह्यो।
यो सँगैआईसीसी टी–२० विश्वकपमा १२ वर्षपछि नेपाली टिमका ब्याटरले अर्धशतक बनाएका छन् । नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसी टी–२० विश्वकप २०२६ मा वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । यसअघि नेपाली टिमबाट सन् २०१४ को संस्करणमा सुवास खकुरेलले अर्धशतक बनाएका थिए ।
सोमपालको कीर्तिमान
आजको खेलबाट सोमपाल कामी नेपालका लागि तीन टी–२० विश्वकप खेल्ने एक मात्र खेलाडी बनेका छन्। अघिल्ला दुई खेलमा बेन्चमा रहेका मिडियम पेसर सोमपाल कामीले वेष्ट इन्डिज विरुद्ध स्पीनर शेर मल्लको स्थानमा अटाएसँगै इतिहास रचेका हुन्।
सोमपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा नेपालले डेब्यु गर्दा पहिलो पटक खेलेका थिए । डेब्यु विश्वकप देखि नेपालले खेलेको त्यसपछिका दुवै विश्वकप खेलेपछि सोमपाल नेपालबाट तीन विश्वकप खेल्ने पहिलो र एकमात्र खेलाडी बनेका हुन् । उनले टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक ७ खेल पनि खेलेका छन् ।



हाम्रो अपडेट 






