काठमाडौं । नेपाल दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै आईसीसी टी–२० विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ ।
प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो, जसले गर्दा अब स्कटल्याण्ड विरुद्ध हुने अन्तिम खेल नेपालका लागि केवल प्रतिष्ठाको लडाइँमा सीमित भएको छ । मुम्बईको वानखेडे स्टेडियममा आइतबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रनको योगफल तयार पारेको थियो ।
सुरुवाती ब्याटरहरू सस्तैमा आउट भएर ४६ रनमा ५ विकेट गुमाएको कठिन अवस्थामा उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दै नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए । वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिँदै नेपाली ब्याटिङ लाइनलाई ध्वस्त पारेका थिए । १३४ रनको मध्यम लक्ष्य पछ्याएको वेस्ट इन्डिजले मात्र १५ दशमलव २ ओभरमा १ विकेट गुमाएर सहजै जित हासिल गर्यो ।
वेस्ट इन्डिजका कप्तान शाई होपले अविजित ६१ र शिमरोन हेतमायरले अविजित ४६ रनको योगदान दिएपछि नेपाली बलरहरू निरीह सावित भए । नेपालका लागि नन्दन यादवले मात्र एक विकेट लिन सके । यो जितसँगै वेस्ट इन्डिज अपराजित रहँदै सुपर ८ मा पुग्ने पहिलो टोली बनेको छ भने नेपाल, इंग्ल्याण्ड र इटलीसँगको अघिल्ला हारका कारण अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको छ ।
नेपालका लागि यो खेल हारको दुखद परिणाम भए पनि अनुभवी खेलाडी सोमपाल कामीले भने एउटा ऐतिहासिक कीर्तिमान रचेका छन् । सोमपाल नेपालका तर्फबाट तीनवटा टी–२० विश्वकप ९२०१४, २०२४ र २०२६० खेल्ने पहिलो र एक मात्र खेलाडी बनेका छन् । उनले यसै खेलमा ब्याटिङतर्फ पनि १५ बलमा अविजित २६ रनको महत्वपूर्ण योगदान दिएका थिए ।
दीपेन्द्र सिंह ऐरी टी–२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्, यसअघि सन् २०१४ मा सुबास खकुरेलले यो सफलता प्राप्त गरेका थिए । नेपाली टोलीले पावर प्लेमा केवल २२ रन मात्र जोड्न सक्नु र मुख्य ब्याटरहरू चल्न नसक्नु नै हारको मुख्य कारण रहन गयो ।



हाम्रो अपडेट 






