
काठमाडौं । शुक्रवार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मौन अवधि सुरु भएको छ ।
गएराति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारमा निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदान हुने दिनभन्दा ४८ घण्टा देखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुनेछ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइने छैन । यस्तै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएसएस, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जालबाट मत माग्न नहुने आयोगले जनाएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेवार छन् । जसपाकै प्रमिला कुमार यादवले भने आफ्नो उम्मेदवारी निश्कृय भएको घोषणा गर्नुभएको छ । उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरु मतदाता हुनेछन् ।