
जिरी(दोलखा) । दोलखामा एक पछि अर्काे गर्दै धमाधम शिक्षक आक्रमणको घटना भैरहेको छ ।
बैतेश्वर गाउँपालिकास्थित नाम्दुमा एक शिक्षिकामाथि आक्रमण भएको एक महिना नवित्दै भीमेश्वर नगरपालिकामा एकैपटक तीन जना शिक्षकमाथि आक्रमण भएको हो । बुधबार भीमेश्वर नगरपालिकास्थित भीम माविका प्रधानाध्यापकसहित दुई जना शिक्षकहरुलाई स्थानीय आशाकाजी हजाम र उनका छोरा आदित्य हजाम (राजन)ले लागुपदार्थ सेवनगरी हातपात र कुटपिट गरेका हुन् । भीमेश्वर–२ घर भएका ति बाबुछोराले प्रधानाध्यापक शेषनाथ आचार्य तथा निमावि शिक्षक भक्तलाल श्रेष्ठ र प्रावि शिक्षक हेमनकुमार श्रेष्ठमाथि हातपात तथा कुटपिट गरेको भीम माविले जनाएको छ ।
यसैबीच, शिक्षकहरुको पेशागत संगठनहरुले उक्त घटनाको भत्सर्ना गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन् । अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त विज्ञप्ती निकालेर शैक्षिक संस्थाभित्र प्रवेशगरी प्रधानाध्यापक तथा शिक्षकहरुमाथि भएको अमानवीय र जघन्य अपराधिक क्रियाकलापले आम शिक्षक जगतमा त्रास फैलिएको भन्दै दोषीमाथि तत्काल कानुनी कारवाही गर्न माग गरेका हुन् ।
उता, भीम माविले प्रधानाध्यापक र शिक्षकमाथि विद्यालय हाताभित्रै आक्रमण हुँदा समेत कारवाहीको लागि कुनै पहल कदमी नगरेको भन्दै विद्यालय व्यवस्थापन समितिको कक्षमा तालाबन्दी गरेको छ । शिक्षकहरुमाथि आक्रमण गर्ने बाबुछोरा अहिले प्रहरी हिरासतमा छन् । घटनापछि पक्राउ परेका उनीहरुमाथि शुक्रबार १० दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।
बैतेश्वर गाउँपालिका–६ स्थित नाम्दुमा शिक्षिकालाई आक्रमण गर्ने पुरुष भने अझै पक्राउ पर्न सकेका छैनन्् । घटनाको एक महिना वितिसक्दा पनि उनी प्रहरीको नियन्त्रण बाहिर छन् । दोलखा प्रहरीले उनी हालसम्म पक्राउ नपरेको र खोजीकार्य जारी रहेको बताएको छ ।
गत माघ २८ मा भीमेश्वर नगरपालिका–५ का सुन्दर अधिकारीले धारिलो हतियार देखाउँदै त्रिपुरा क्याम्पसमा अध्यापन गर्ने शिक्षिका उषा तामाङ लामालाई क्याम्पसको गेट नजिकै आक्रमण गरेका थिए । त्यसको एक महिनामा फागुन २८ गते भीम माविमा उक्त घटना घटेको हो ।