भक्तपुर । गत फेब्रुअरी २८ देखि जारी अमेरिका–इजरायल र ईरान युद्धका कारण धेरै नेपालीहरु तनावमा छन् ।
पश्चिम एसियामा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौतीलाई लिएर रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरुका आफन्त, परिवारजन थप तनावमा परेका हुन् । परराष्ट्र मन्त्रालयले भने मध्यपूर्वमा रहेका नेपालीको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै सबैलाई नआत्तिन तथा सतर्क रहन भनेको छ । युद्ध चर्किँदै गए उद्धारका लागि सरकारले आवश्यक तयारी समेत गरेको मन्त्रालयको भनाई छ ।
सरकारले आवश्यक परे पानी जहाज भाडामा लिएर भए पनि समस्यामा परेका नेपालीको उद्धार गर्नेगरी तयारी भैरहेको परराष्ट्रमन्त्री बालानन्द शर्माले बताए । मन्त्रालयले पश्चिम एशियाको विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र हालसम्म त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेको बताएको छ । पश्चिम एशियामा बस्ने नेपाली र उनीहरुका नेपालमा रहेका परिवारजनलाई विचलित नहुन मन्त्रालयले आग्रह गरेको छ ।
युएईमा चिन्तित नेपाली
ईरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाविरुद्ध जबाफी मिसाईल तथा ड्रोन आक्रमण सुरु गरेपछि दोस्रो दिन नै संयुक्त अरब ईमिरेट्स युएईको राजधानी आबुधावी तथा युएईका दुबई र शारजहाँ जस्ता स्थानमा बसोबास गर्ने नेपालीहरु चिन्तित बनेका छन् । खाडी क्षेत्रमा कतार, साउदी अरेबिया, ओमान, बहराईन, ईराक लगायत देशमा करिब १९ लाख नेपाली कार्यरत छन् । अझ खाडीसँग सीमा जोडिएको उत्तर अफ्रिकाका देश समेत गरी त्यस क्षेत्रमा रहेका नेपालीको कुल संख्या २५ लाख रहेको परराष्ट्र मन्त्रालयको अनुमान छ ।
यस्तै, युएईमा ७ लाखभन्दा बढी नेपाली कामदार रोजगारीमा रहेका छन् । विगत दुई सातादेखि जारी ईरानी आक्रमणबीच सहज जीवनयापन गर्न खाडीवासीलाई केही कठिन भैरहे पनि त्यस्तै प्रतिकूल अवस्थामा बाँच्न करिब सबै जना बिस्तारै अभ्यस्त हुन थालिसकेको आबुधावी स्थित नेपाली दूतावासले जनाएको छ ।
लडाईँ सुरु भएयता ईरानले युएईका अमेरिकी सैन्य अखडालाई ताकेर करिब ३ सय मिसाईल र १५ सय भन्दा बढी ड्रोन आक्रमण गरिसकेको छ । तर त्यहाँको सुरक्षा प्रणाली एकदमै राम्रो भएकाले कुनै समस्या नरहेको तथा किनमेलदेखि घुमफिर वा काममा जान आउन पनि कुनै समस्या नरहेको दूतावासको दाबी छ ।
युद्ध लम्बिने त हैन
आबुधावीदेखि १४० किलोमिटर पश्चिममा रहेको दुबई सहरमा मात्र ३ लाखभन्दा बढी नेपाली कामदार भएको अनुमान छ । अहिले ईरान युद्धको मारमा मरे पनि दुबई सरकारले सबै नागरिक तथा विदेशी कामदारको सुरक्षामा कुनै कसर बाँकी नराखेको त्यहाँस्थित नेपालीहरुको भनाई छ ।
नेपाली कामदारहरु बाहिर आ–आफ्नो कार्यक्षेत्रमा खटिनुपर्ने बाध्यता छ । अहिले नेपाली कामदारहरु सबै आ–आफ्ना काममा लागिरहेका छन् । अहिलेसम्म अवस्था सामान्य रहेपनि ईरान युद्ध लम्बिरहने अवस्था आएमा अर्कै अवस्था आउन सक्ने भन्दै नेपालीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।
ईरान युद्ध सुरु हुने बित्तिकै पश्चिम एसियाको आकाश यात्रुबाहक विमानका लागि केही दिन बन्द गरिएको थियो । केही दिनयता भने सबै वायुसेवाले उडान सुरु गरिसकेकाले नेपाल आउजाउ गर्न हवाई यातायात सहज हुँदा नेपालीहरुले थप सहज महसुस गरेका छन् ।
शान्ति सैनिक क्याम्पमा हमला
यता, संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा पनि आक्रमण भएको छ । शुक्रवार भएको आक्रमणबाट नेपाली शान्ति सैनिकहरु भने सुरक्षित रहेको बताईएको छ । लेबनानभर ५०० बढी नेपाली शान्ति सैनिक तैनाथ छन् । आक्रमणको बेला सबै शान्ति सैनिकहरु बंकरभित्र रहेकाले सुरक्षित रहेको बताईएको छ ।



हाम्रो अपडेट 






