images
images

दोलखा र रामेछापमा सवारी दुर्घटनाः एक बर्षको अवधिमा २१ जनाको मृत्यु

जिरी (दोलखा) । दोलखा र रामेछापमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने ७२ जना घाइते भएका छन् ।

गत चैतदेखि हालसम्म दोलखा र रामेछापमा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको हो । एक वर्षको अवधिमा सवारी दुर्घटनामा दोलखाका ११ जना र रामेछापमा १० जनाले ज्यान गुमाएका छन् । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । जसअनुसार दोखलामा चैतदेखि हालसम्म ४७ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुुसार दुर्घटनामा मृत्यु हुनेमा ६ जना पुरुष र ५ महिला रहेका छन् । यो अवधिमा मोटरसाइकल, इको भ्यान, योद्धा गाडी र ट्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णुराज पुरीले जानकारी दिनुभयो ।

जसअनुसार गत चैत २९ गते योद्धा गाडी दुर्घटना हुँदा एकै पटक ४ जनाको मृत्यु भएको थियो भने त्यसपछि भएको मोटरसाइकल दुर्घटनामा परी ५ जना, इको भ्यानमा र ट्याक्टर दुर्घटनामा परी एक/एक जनाको मृत्यु भएको छ । जिल्लामा भएको सवारी दुर्घटनामा परी ६७ जना घाइते भएका छन् । चार पाङग्रे सवारी साधन, सार्वजनिक भाडाको गाडी, संस्थागत सवारी साधन र मोटरसाइकल दुर्घटनामा परी ६७ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ । यो अवधिमा सबै भन्दा बढी मोटरसाइकल दुर्घटना भएको पाइएको छ । गत वर्ष दोलखामा ४५ वटा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने ९९ जना घाइते भएका थिए ।

रामेछापमा १० जनाको मृत्यु
रामेछापमा एक वर्षको अवधिमा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लामा २७ वटा सवारी साधन दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो । बोलेरो, ट्याक्टर र ट्रक दुर्घटनामा परी उनीहरुको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । जसअनुसार ट्याक्टर दुर्घटनामा परी ५ जना, बोलेरो दुर्घटनामा ४ जना र ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा दुई जना जिल्ला बाहिरका रहेका छन अन्य जिल्लाभित्रकै नागरिक रहेका छन् ।

सवारीका साधन चलाउँदा सुरक्षामा ध्यान नदिनाले पनि धेरैले अकालमै ज्यान गुमाएका छन् । चालकको लापरवाही, सडकको दुरावस्था र सवारी साधान तिब्र गतीमा चलाएका कारण दुर्घटना बढी हुने गरेको प्रहरीले जनाएको छ ।