images
images

नेकपा माओवादीबाट मेलुङ गाउँपालिकाको अध्यक्षमा शंकर लामा उम्मेदवार बन्ने

  • २ बैशाख २०७९, शुक्रबार १८:४७

जिरी (दोलखा) । नेकपा माओवादी केन्द्रले दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षमा नेता शंकर लामालाई उम्मेदवार बनाउने भएको छ ।

नेकपा माओवादी केन्द्र मेलुङ्ग गाउँपालिकाकोे आज बसेको तेस्रो पुर्ण बैठकले लामालाई पालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । लामो समय संघर्षको राजनीतिमा रहेका लामालाई सर्वसम्मतिले उम्मेदवार बनाउने निर्णय भएको हो । उनी माओवादी केन्द्रका संस्थापक, त्यागी, इमान्दार एवम् लोकप्रिय नेता हुन् । नेता लामाले गाउँमा रहेर सेवा गर्ने चासो देखाएका छन् । १९ बर्षको उमेरमा २०३६ सालको बहुदल र निर्दलको आन्दोलनमा बहुदलको पक्षमा आन्दोलनमा होमिएका लामाले सोही समयबाट राजनीतिको सुरुवात गरेका थिए । ४२ बर्षे राजनीतिक जीवनमा निकै उतारचढाव झेलेका ६१ बर्षिय नेता लामा माओवादी केन्द्रका प्रभावशाली एवम् चर्चित नेता हुन् । साथै, बैठकले दुई दिनभित्र पालिकाको ७ वटै वडाबाट वडाध्यक्ष र सदस्यहरु सिफारिस गर्ने निर्णय गरेको छ । आजको बैठकले माओवादी केन्द्र मेलुङ गाउँकमिटीका अध्यक्ष प्रखर लामाको संयोजकत्वमा १ सय ६१ सदस्यीय निर्वाचन परिचालक कमिटी पनि गठन गरेको छ । यस्तै, छिरिङ लामाको नेतृत्वमा ‘वान बुथ हन्ड्रेट यथु’ गठन गर्ने निर्णय  भएको छ ।

यो सँगै माओवादी केन्द्र दोलखाले ४ वटा पालिकामा अध्यक्षका उम्मेदवार घोषणा गरिसकेको छ । यसअघि माओवादी केन्द्रले वैतेश्वर गाउँपालिकाको अध्यक्षमा लक्ष्मण खड्का, तामाकोशी गाउँपालिकाको अध्यक्षमा सन्तोष केसी, कालिञ्चोक गाउँपालिकाका अध्यक्षमा कुलबहादुर बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।