
काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न देशभरका विद्यालयहरुलाई परिपत्र गरेको छ ।
नयाँ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सरकारले सर्कुलर गरेको हो । तर, शिक्षक महासंघले भने माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन ल्याउनुपर्ने अडान राखेको छ ।
शैक्षिक हडतालसहितको शिक्षक आन्दोलनले ७० लाख बालबालिका सहभागी हुने विद्यार्थी भर्ना अभियान प्रभावित हुने भएको छ भने एसईईको उत्तरपुस्तिका परीक्षण पनि रोकिएको छ । विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणलगायत शैक्षिक गतिविधिमा संलग्न हुनुपर्ने शिक्षकले भने १३ दिनदेखि आन्दोलनलाई जारी राख्दै आएका छन् । विद्यालय शिक्षा ऐन ल्याउन माग राख्दै आएका शिक्षकले नयाँ वर्षका दिन पनि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।
यस्तै, शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघले हिजो एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा सहभागी नहुने जनाएको हो । कक्षा १२ को परीक्षा वैशाख ११ गतदेखिदेखि सुरु हुँदैछ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।