
काठमाडौं । काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड रुपैंया बराबरको विदेशी मुद्रा प्रकरणमा पक्राउ परेका दुई जना विरुद्ध मुद्धा दायर भएको छ ।
आज सरकारी वकिल कार्यालय काठमाडौंको रायपछि विभागले जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । सो प्रकरणमा सिन्धुपाल्चोक भोटेकोशाी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा र सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलले विरुद्ध मुद्धा दायर गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमेरले जानकारी दिनुभयो । दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्धा दर्ता गरिएको छ । पौडेल र कुसाङलाई २५ करोड रुपैंया बराबरको बिगो दाबी र त्यसको तीन गुणा जरिवाना मागसहित अभियोग पत्र दायर भएको विभागले जनाएको छ । दुबै जनालाई सुन, हुन्डी लगायतको विषयमा पटके कारोबारी भएको खुलेको छ ।
त्यस्तै पटके अपराधको आधारमा पनि सजाय माग गरिएको छ । उनीहरुविरुद्ध थप ३ वर्ष कैद माग गरिएको छ । अनुसन्धानपछि पौडेलको बैंक खाता, जग्गा जमिन रोक्का र उनी विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरेर खोजी कार्य भईरहेको छ । गत चैत ४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट ट्रकभित्र राखिएको २५ करोड रकम बरामद गरेको थियो ।
युरो र डलर बरामद भएलगत्तै पौडेल भने सम्पर्कविहीन छन् । पौडेलविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।