
दोलखा । दोलखाको ७ वटा स्थानीय तहको प्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
जिल्लाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका, गौरीशंकर, तामाकोशी, विगु र शैलुङ गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवारले अग्रता लिएका हुन् । यो समाचार तयार पार्दासम्म जिल्लाको ९ स्थानीय तहमध्ये ७ वटा पालिकाको प्रमुखमा गठबन्धनदलका उम्मेदवार र २ वटामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यस्तै ६ वटा स्थानीय तहको उपप्रमुखमा गठबन्धनदल अघि छ भने ३ वटा स्थानको उपप्रमुखमा एमालेले अग्रता लिएको छ ।
भीमेश्वर नगरपालिका
हालसम्मको मतपरिणाम अनुसार भीमेश्वर नगरपालिकाको नगरप्रमुख गठबन्धनका साझा उम्मेदवार ईश्वरनारायण मानन्धर १ हजार ५ सय ६२ मत सहिता अग्र स्थानमा छन् । यस्तै, एमालेका उम्मेदवार हरिवंश चौंलागाईले अहिलेसम्म १ हजार ५९ मत पाएका छन् । भीमेश्वरमा उपाध्यक्षमा गठबन्धनकी उम्मेदवार संगीता तामाङ १ हजार १ सय ५१ मतसहित अग्र स्थानमा छिन् भने कमला बस्नेतले १ हजार ९२ मतसहित तामाङलाई पछ्याइरहेकी छिन् ।
कालिञ्चोक गाउँपालिका
कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका अर्जुप्रसाद शिवाकोटीले अग्रता कायमै राखेका छन् । उनले १ हजार ४३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार गणेश शिवाकोटीले ९ सय ३१ मत पाएका छन् । कालिञ्चोक गाउँपालिकामा उपाध्यक्षमा एमालेकी कविता थामी अग्र स्थानमा छिन् । उनी १ हजार १ सय मतसहित अग्र स्थानमा हुँदा कुल बहादुर बुढाथोकीले १ हजार ६३ मतसहित थामीलाई पछ्याइरहेका छन् ।
गौरीशंकर गाउँपालिका
गौरीशंकर गाउँपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वास कार्की एमालेका उम्मेदवार भन्दा दोब्बर मतले अग्र स्थानमा रहेका छन् । कार्कीले १ हजार ८६ मत पाएका छन् भने एमालेका जंगबहादुर गुरुङले ५ सय ६८ मत पाएका छन् । गौरीशंकरको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार श्यामसुन्दर तामाङ ८ सय ७१ मतसहित अग्रता कायम राखेका छन् भने एमालेकी उम्मेदवार मुना शिवाकोटी केसीले ७ सय मत ल्याएर तमाङलाई पछ्याइरहेकी छिन् ।
जिरी नगरपालिका
जिरी नगरपालिकामा नेपाली कांग्रेसका लाक्पा शेर्पा १ हजार ४ सय ४६ मतसहित अग्र स्थानमा छन् भने उनलाई एमालेका मित्रबहादुर जिरेलले १ हजार ३ सय ९१ मतसहित पछ्याइरहेका छन् । जिरीको उपाध्यक्षमा एमालेकी उम्मेदवार कृष्णमाया बुढाथोकी खड्का १ हजार ६ सय ५० मतसहित पहिलो स्थानमा र माओवादी केन्द्रका तेजबहादुर तामाङ १ हजार १ सय ९१ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
तामाकोशी गाउँपालिका
तामाकोशी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार प्रोण प्रताप केसीले १ हजार १ सय ३८ मतसहित अग्र स्थानमा रहेका छन् भने एमालेका अभिषेक सुवेदीले १ हजार ७४ मत पाएका छन् । तामाकोशीको उपाध्यक्षमा नेपाली कांग्रेसकी सृजना सुवेदी १ हजार ६८ मतसहित पहिलो स्थानमा छिन् भने उनलाई एमालेकी अम्बिका पोखरेलले १ हजार ५० मत ल्याएर पछ्याइरहेकी छिन् ।
विगु गाउँपालिका
विगु गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका संजिव ओलीले ६ सय ४ मत पाएका छन् भने एमालेका अचुतम केसीले ३ सय ४४ मत पाएका छन् । विगुको उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आङनिमा शेर्पा ७ सय ८ मतसहित पहिलो स्थानमा र एमालेकी देवीका थामी २ सय ८२ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।
शैलुङ गाउँपालिका
शैलुङ गाउँपालिकामा अहिले नेकपा माओवादी केन्द्रका उम्मेदवार रिमालबाबु श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले ८ सय ३ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार धन बहादुर तमाङले ७ सय ६३ मत पाएका छन् । सो पालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका दावा दोर्जे लामा ८ सय ६० मतसहित पहिलो स्थानमा र पार्वती कार्की ७ सय ९१ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।
वैतेश्वर गाउँपालिका
जिल्लाको ९ स्थानीय तहमध्ये दुई स्थानमा भने नेकपा एमालेले अग्रता लिएको छ । वैतेश्वरको अध्यक्षमा एमालेका माधवप्रसाद घिमिरे १ हजार ३५ मतसहित अग्र स्थानमा छन् र यस्तै माओवादी केन्द्रका लक्ष्मण खड्का ७ सय ८४ दोस्रो स्थानमा छन् भने कांग्रेसका छवि लामाले ७ सय ७६ मतसहित खड्कालाई पछ्याइरहेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट कल्पना उप्रेती ७ सय ८३ मतसहित पहिलो स्थानमा र कल्याण दाहाल ७ सय ८ मतसहित दोस्रो स्थानमा छन् ।
मेलुङ गाउँपालिका
मेलुङ गाउँपालिकामा नेकपा एमालेका हिराकुमार तामाङ १ हजार ४ सय १६ मतसहित अग्र स्थानमा छन् भने नेकपा एसका उम्मेदवार रविन्द्रकुमार कार्कीले ९ सय ५८ मत पाएका छन् । यस्तै उपाध्यक्षमा पनि एमालेकी गायत्री आचार्य १ हजार ३ सय ८३ मतसहित पहिलो र नेपाली कांग्रेसका भक्तबहादुर तामाङ ९ सय २३ मतसहित दोस्रो स्थानमा छन् ।