images
images

बेताली वृद्ध हत्या काण्डः झड्केलो छोरीद्धारा हत्या गरेको स्वीकार, छोरा सहित चार जना थुनामा

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा योजनाबद्ध रुपमा आफ्नै सन्तानले बुबाको हत्या गरेको खुलासा भएको छ ।

गोकुलगंगा गाउँपालिका–४ बेतालीस्थित लिसेखानीका ८४ वर्षीय सम्शेर बहादुर थापामगरलाई आफ्नै झड्केलो छोरीले योजनावद्ध रुपमा हत्या गरेको खुलासा भएको हो । रामेछाप प्रहरीले हत्या आरोपमा सम्शेरकी झड्केलो छोरी ४५ वर्षीया रामपियारी खड्का र छोरा ६२ वर्षीय मानबहादुर थापा मगर सहित चार जनालाई नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न भएको आरोपमा ती वृद्धको नाताभित्रकै अर्का दुई जना ४५ वर्षीया अनिता भनिने मनोमाया थापामगर र ५२ वर्षीय नेत्रबहादुर थापामगर पनि पक्राउ परेका थिए ।

उनीहरुलाई रामेछाप प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा रामपियारीले आफुहरु चारै जना मिलेर बुबाको हत्या गरेको खुलाएकी छन् । यद्धपी, सम्शेरका छोरा मानबहादुर सहित अन्य दुई जनाले भने आफुहरु हत्यामा संलग्न नरहेको बताउँदै आएका छन् । रामपियारीले हत्या गरेको स्वीकार गरी चारै जना संलग्न रहेको बयान दिएपछि अहिले उनीहरु सबै कर्तव्य ज्यान मुद्धामा पुर्पक्षका लागि थुनामा गएका छन् । गत बैशाख २४ गते जिल्ला न्यायधिश इन्दिरा शर्माको इजलाशले आरोपितहरुलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतको आदेशपछि उनीहरु अहिले रामेछाप कारागारको थुनामा रहेका छन् ।

यस्तो छ, रामपियारीको बयान

रामेछाप जिल्ला अदालतका वैतनिक वकिल यादवप्रसाद दाहालका अनुसार ती वृद्धलाई योजनावद्ध रुपमा हत्या गरिएको बयानबाट खुलेको छ । रामपियारीले बुबाले वेवास्ता गर्ने गरेको भन्दै आफुहरुले चैत ९ गतेनै बुबालाई मार्ने योजना बनाएको र चैत १३ गते साँझ खुकुरी प्रहर गरेको बयान दिएकी छन् ।

उनले बयानमा दाजु मानबहादुर र अर्का आरोपित नेत्र बहादुरले घरभित्र गएर बुबामाथि खुकुरी प्रहार गरेको र आफु र अनिता बाहिर बसेर कोही आउँछन् की ? भनेर हेरेर बसेको बताएकी छन् । बुबालाई खुकुरी प्रहार गरेपछि रगतमा लत्पतिएको खुकुरी धोएर चामलको बोराको छेउमा लुकाएको रामपियारीको बयानमा उल्लेख छ । तर, हत्या गरिएका बृद्धका छोरा र अन्य दुई जनाले भने अस्वीकार गरेका छन् । उनीहरुले रामपियारीले हत्या गरी आफुहरुलाई फसाउनको लागि सो बयान दिएको बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान र प्रमाणहरुको आधारमा फैसला हुने जिल्ला अदालत रामेछापले जनाएको छ ।

गाउँमै घटेको घटनावाट प्रेरित भएर हत्याको योजना

वृद्ध सम्शेर बहादुर थापामगरको हत्या हुनुभन्दा करिब एक महिना अघि मात्रै बेतालीमै एक वृद्धा आधा शरीर जलेको अवस्थामा मृत फेला परेका थिए । गत फागुन ६ गते शनिबार बेताली भिमसेनथानस्थित सिरानघरकी अन्दाजी ७६ वर्षीया वृद्धा पदमकुमारी खड्काको आधा शरीर जलेको अवस्थामा शंकास्पद शव फेला परेको थियो । उनको कम्मरदेखि तलको भागको एउटा खुट्टा पुरै जलेको थियो । वृद्धा पदमकुमारी खड्का सुतेको स्थानमा कतै आगो सल्केको र आगलागी भएको नभेटिएको तथा शरीर मात्रै जलेको अवस्थामा फेला परेकोले घटना शंकास्पद थियो । ती वृद्धालाई जलाएर मारिएको आशंका भएपनि सो घटनामा अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

तर, सो घटनामा संलग्नको पहिचान हुन नसकेपछि अर्काे घट्ना घटाउन प्रेरणा मिलेको अनुसन्धानले देखाएको छ । रामपियारीले सम्शेर हत्याको बयानको क्रममा गाउँमै जलेको अवस्थामा बृद्धा महिलाको शव भेटिदा पनि दोषिको पहिचान नभएपछि आफुहरुले बुबाको हत्या गरेपनि थाहा नपाउने ठानेर योजनावद्धरुपमा घटना घटाएको बयान दिएकी छिन् ।