images
images

जिल्ला समन्वय समिति दोलखाको निर्वाचन आज हुँदै

  • १ असार २०७९, बुधबार ०८:४३

दोलखा । दोलखामा जिल्ला समन्वय समितिको निर्वाचन आज हुँदैछ ।

निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भइसेकेको र आज विहान १० बजेदेखि २ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन कार्यलयका सहायक निर्वाचन अधिकृत भिम पाण्डेले जानकारी दिनुभयो । जिसस निर्वाचनका लागि १९ जना प्रतिस्पर्धामा रहेका छन् । समितिको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा हुँदैछ ।

जिससको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) र एमालेको तर्फबाट जिसस प्रमुखमा ऋषिकेश उप्रेतिले मनोनयन दर्ता गराएका छन् । यस्तै जिससको उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका दोर्जी शेर्पा, नेकपा एमालेको तर्फबाट गोमा केसी र स्वतन्त्रतर्फबाट नानीकाजी तामाङको उम्मेदवारी परेको छ । जिससको सदस्यमा गठबन्धन दल र एमालेका उम्मेदवार रहेका छन् ।

जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, कम्तिमा तीन महिला सदस्य र कम्तिमा एक दलित वा अल्पसंख्यक सदस्य रहने गरी ६ देखि ९ सदस्यसम्म रहने व्यबस्था छ । जिससको निर्वाचनमा जिल्लाका ९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख गरी १८ जना मतदाताले मतदान गर्नेछन् । जिल्लामा नेकपा एमालेको ७, नेपाली कांग्रेसको ६, नेकपा माओवादी केन्द्रको ४ र नेकपा एसका एक जना मतदाता रहेका छन् । मतदान सम्पन्न भएपछि आजै मतगणना गरिने सहायक निर्वाचन अधिकृत पाण्डेले जानकारी दिनुभयो ।