दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका एक बृद्धको शंकास्पद मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर १ स्थित फुलाउने टोलका ७३ वर्षिय नन्द बहादुर शिवाकोटीको शंकास्पद मृत्यु भएको हो । हिजो साँझ छिमेकीले बोलाएपछि छिमेकीको घरमा गएका उनी अवेरसम्म घर फर्किएका थिएनन् । अबेरसम्म घर नर्फकिएपछि स्थानीयले खोजीकार्य सुरु गरेकोमा उनको शव आज विहाज साँढे ८ बजे घर नजिकैको जंगलको तल्लोपट्टि खोल्सामा मुढाले किचेको अवस्थामा फेला परेको हो । उनको टाउको र ढाड मुढाले थिचेको अवस्थामा अवस्थामा शव फेला परेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । स्थानीयले मुढाले किचेको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । त्यसलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरि घटनास्थलबाट शव उठाएर पोष्टमार्टम पछि शव आफन्तजनलाई बुझाएको छ ।
घटनाको प्रकृति हेर्दा उनलाई आफैँ मुढाले किचेको जस्तो नदेखिने स्थानीयले बताएका छन् । घटना शंकास्पद रहेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा ढिलोगरि मात्रै जानकारी गराएको छ । मृतक शिवाकोटी आफ्नै श्रीमतिसँग बस्दै आएका थिए । दोलखामा एकपछि अर्को शंकास्पद मृत्युको घटनाहरु भइरहेका छन् । यसअघि गौरीशंकर गाउँपालिकाका एक युवकको शंकास्पद मृत्यु भएको थियो भने भीमेश्वर नगरपालिकाका एक पुरुषको पनि शंकास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । यसरी एकपछि अर्को शंकास्पद मृत्युका घटना भइरहे पनि प्रहरीले घटनातर्फ खासै चासो देखाएको छैन ।










