दोलखा । नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले जिल्लामा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताउनुभएको छ ।
जिल्लाको पार्टी नेतृत्व निर्वाचनको प्रक्रियाबाट चयन गरेपनि पालिका र वडाको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको भन्दै उहाँले पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउने काम भइरहेको बताउनुभयो । हाम्रो रेडियोको बहसमुखी कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै उहाँले दोलखा एमालेमा गुटबन्दी नरहेको दाबी गर्नुभयो । एमालेका नेता कार्यकर्तामा काम गर्ने र काम नगरी नेताको वरिपरि घुमेर चाकडी गर्ने दुई प्रवृत्ति देखिएको उहाँको भनाई छ । अध्यक्ष श्रेष्ठले पार्टीलाई गतिशील बनाएर आगामी निर्वाचनमा नतिजा हात पार्ने गरी सबैलाई समेटेर अगाडि बढ्ने बताउनुभयो ।
जिल्लामा एमालेको बलियो संगठन र जनाधार भएपनि गत संसदीय र स्थानीय तहको निर्वाचनमा अन्य दलहरुको गठबन्धन र आन्तरिक प्राविधिक कारणले हार ब्यहोर्नु परेको उहाँले बताउनुभयो । निर्वाचनमा पराजय भोग्नुको एउटा कारण पार्टीभित्रको अन्तरघात भएको स्वीकार गर्दै अध्यक्ष श्रेष्ठले ३ सय ६४ दिन एमालको कार्यकर्ता हुने र चुनावको दिन अरुलाई सहयोग गर्नेलाई पार्टीले स्वीकार नगर्ने स्पष्ट पार्नुभयो । निर्वाचनमा असहयोग गरेको कारण कारबाही गरिएका सबै कार्यकर्ताको कारबाही फुकुवा गरिएको उहाँले जानकारी दिनुभयो ।
दोलखाको विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औलाउदैँ उहाँले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग समेत साझा एजेण्डामा सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । स्थानीय सरकारले कृषि उत्पादन, पशुपालन, स्वरोजगारका कार्यक्रमसहित आर्थिक र सामाजिक विकासका योजनालाई बजेटमा प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ । एमालेबाट दोलखाका स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरुलाई सोही अनुसार नीति तथा कार्यक्रम, बजेट र योजना ल्याउन पार्टीले निर्देशन गरेको उहाँले जानकारी दिनुभयो । बागमती प्रदेश सरकार एमाले सहभागी भएको अर्थमन्त्रालय पनि एमालेकै रहेका कारण आगामी आर्थिक वर्ष दोलखालाई बजेटमा प्राथमिकता हुने उहाँको विश्वास छ ।