images
images

बाढी–पहिरो पीडितको उद्धार र राहतका लागि हेलिकोप्टर लिएर बेदिङ पुगेः अध्यक्ष कार्की

  • ३१ असार २०८१, सोमबार ०९:२२

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले गौरीशंकर बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै आवश्यक सहयोग गर्न संघ र प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।

गौरीशंकर गाउँपालिकाका अधिकांश वडा बाढी पहिरोको उच्च जोखिममा रहेको र त्यसको रोकथाम तथा क्षतिपूर्तिका लागि पालिकासँग प्रर्याप्त बजेट नभएकाले संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । हाम्रो रेडियोको कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै अध्यक्ष कार्कीले पहिरोको जोखिममा रहेका कतिपय बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँका अनुसार बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न उपयुक्त स्थानको खोजी भइरहेको छ । बाढी पहिरो लगायत विपद्का घट्ना जोखिम न्यूनीकरण तथा खोज, उद्धार र राहतका लागि पालिकाले विपद् कोष बनाएर काम गरिरहेको उहाँले बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार गाउँपालिकाको विपद् कोषमा चालु वर्ष ३० लाख बजेट छुट्याइएको थियो भने आगामी वर्षका लागि पनि सोही बराबरको बजेट प्रस्ताव गरिएको छ ।

यो वर्ष आएको बाढीपहिरोले एक महिला बेपत्ता भएको र रोल्वालिङ क्षेत्रको गौरीशंकरको डोगाङ र बेदिङ गाउँ तथा च्छो रोल्पा पदमार्गमा ठूलो क्षति गरेको उहाँले बताउनुभयो । बेदिङ सम्म पुग्ने बाटो अवरुद्ध भएपछि अलपत्र परेका नागरिकको उद्धार र स्थानीयका लागि हेलिकोप्टर मार्फत खाद्यान्न सामाग्री लिएर आफू गाउँ पुगेको उहाँले बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार बेदिङ र ना गाउँका बासिन्दा अहिले सुरक्षित छन् भने केही महिनाका लागि खाद्यान्न समेत मौज्दात गरिएको छ । यस्तै, बाढी पहिरोका कारण चंखु र मार्बुको सडकमा क्षति पुगेकोमा सडक मर्मत गरी आवात जावातलाई सहज बनाइएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले बाढी पहिरोबाट मृत्यु भएका, बेपत्ता भएका तथा घरमा क्षति पुगेका परिवारलाई गाउँपालिकाको विपद् व्यवस्थापन कार्यविधि अनुसार राहत उपलब्ध गराउने बताउनुभयो ।

बाढीपहिरोले गौरीशंकरमा ठूलो क्षति गरेपछि स्थानीय सरकार र जिल्ला दैवी प्रकोप उद्धार समितिको आग्रह अनुसार गृह मन्त्रालयले उद्धार र राहतका लागि सैनिक हेलिकोप्टर पठाएको थियो । शनिबार गाउँपालिका अध्यक्ष कार्की सोही हेलिकोप्टरमा खाद्यान्न सामाग्री लिएर बेदिङ पुगेका थिए ।