images
images

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्यो ‘रातो किताव’,यस्ता छन् योजना र वजेट

  • ३१ असार २०८१, सोमबार १९:५७

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले वार्षिक कार्यक्रम पुस्तिका (रातो किताव) सार्वजनिक गरेको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट समेटिएको रातो किताव आज सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, उपप्रमुख कमला बस्नेत र प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आज एक समारोहका बीच संयुक्त रुपमा रातो किताव सार्वजनिक गर्नुभएको हो । नयाँ आर्थिक वर्षको पूर्बसन्ध्यामा भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष सञ्चालन हुने योजना, कार्यक्रम र बजेट समेटिएको रातो किताव सार्वजनिक गरेको हो । नगरपालिकाका नगरप्रमुख मानन्धरले आगामी वर्ष सञ्चालित कार्यक्रमहरुबाट भीमेश्वर नगरपालिकाको बृहत गुरु योजना अनुरुपको कृषि, पशुपालन, पर्यटन र दिगो पूर्बाधार, शिक्षा, स्वास्थ्य र संस्कतिले समुन्नत भीमेश्वरलाई सफलीभूत बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाको दुरगामी प्रभाव राख्न सक्ने महत्वाकांक्षि योजनाबाट सुसज्जित भएको बजेट पुस्तक आएको उहाँको भनाई छ ।

कार्यक्रममा नगर उपप्रमुख कमला बस्नेतले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक योजनासँग सम्बन्धित पक्षहरुलाई समावेश गरेर वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका प्रकाशन गरिएको जानकारी दिनुभयो । यस पुस्तकबाट नगरबासीले भीमेश्वर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य, आर्थिक ऐन, विनियोजन ऐन लगायत वित्तीय तथ्यांकहरु सम्बन्धमा जानकारी प्राप्त गर्न सकिने उपप्रमुख बस्नेतले बताउनुभयो ।

आगामी आर्थिक वर्षका लागि ८८ करोड ९ लाख ८४ हजार बजेट विनियोजन गरेको भीमेश्वर नगरपालिकाले आर्थिक विकासतर्फ ४० करोड, ५४ लाख ५३ हजार रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, पूर्बाधार विकासतर्फ २८ करोड ९३ लाख ५४ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड ८५ लाख २६ हजार रुपैयाँ विनियोजन गरिएको छ । भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १० करोड ४८ लाख २० हजार बजेट छुट्याएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, नगरपालिकाका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख एबम् प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।