images
images

भीरकोटका पहिरो पीडित भन्छन्ः लगाएको बाली पुरियो, आफन्तकोमा बास कहिलेसम्म ?

  • ३० भाद्र २०७९, बिहीबार १२:०५

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका १ का पहिरो पीडितहरुको दैनिकी कष्टकर बन्दै गएको छ ।

तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटको माथिल्लो माझि बस्तीका पहिरो पिडितका लागि राहत तथा उद्धारको काम प्रभावकारी बन्न नसक्दा दैनिकी कष्टकर बन्दै गएको हो । गत भदौं १९ गते बस्ती माथिबाट सुख्खापहिरो खस्दा उच्च जोखिममा परेका २० घरपरिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेपनि अझै सम्म केही पहलकदमि नहुँदा समस्या भएको हो । स्थानिय सरकारले समेत आफुहरुको विषयमा हालसम्म कुनै पहलकदमी नगर्दा समस्या भएको पीडितहरुको गुनासो छ ।

खेतीयोग्य जमिन बगरमा परिणत

माझिबस्तीमा पहिरोका कारण २५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । पहिरोको उच्च जोखिममा परेका उनीहरु त्रासमै दिनभर सोही घरमा बस्ने र रातको समयमा छिमेकीकोमा बास बस्ने गरेका छन् । लगातारको वर्षाका कारण माथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि आफुहरु छिमेकीकोमा शरण लिएर बस्नुपर्ने बाध्यता रहेको स्थानिय इसाना माझीले गुनासो गर्नुभयो । घर जोखिममा परेको भन्दा पनि अन्न बाली रोपेको खेतवारी पहिरोले पुरेपछि अगामी दिनमा के खाने भन्ने चिन्ताले सताउने गरेको स्थानियले गुनासो गरेका छन् । छुट्टाछुटै राजनितिक दलका प्रतिनिधिले आएर निरीक्षण गर्ने र आश्वासन दिने बाहेक कसैले केही नगरेको स्थानिय रमेश खत्रीले बताउनुभयो । भीरकोटस्थित माझिगाउँमा पहिरोका कारण स्थानीय राजेन्द्र माझि, ललित केसी, अञ्जु माझि, डोल बहादुर खत्री, प्रकाश खत्री, गिता केसी, सिता केसी, टंक बहादुर खत्री, रमेश खत्री, पदम बहादुर कटुवाल र गोमा माझि लगायतको २० वटा घर उच्च जोखिममा परेको छ भने २५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

पालिकाले अझै केही निर्णय गरेन

तामाकोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष वसन्त बहादुर थापाले वडा कार्यालयलाई थोरै मात्रै अधिकार भएकाले राहतका लागि केही निर्णय गर्न नसकेको बताउनुभयो । पहिरो पिडितहरुले राहत उपलब्ध गराउनका लागि गाउँपालिकामा निवेदन पेश गरेपनि पालिकाले समेत केही निर्णय गरेको छैन । पहिरो पिडितलाई राहत दिने खालको केही औपचारिक निर्णय नभएको र थप गृहकार्य गरेर निर्णय लिईने गाउँपालिकाकी उपाध्यक्ष सिर्जना खड्का सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो पिडितलाई हालसम्म १० थान त्रिपाल मात्रै पठाइएको छ ।