images
images

चलचित्र ‘के घर के डेरा’को टिजर सावर्जनिक

  • ३० भाद्र २०७९, बिहीबार १८:४४
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ ।
फिल्मको डिजिटल राइट्स खरिद गरेको कम्पनी जी-२१ डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरुको दौडधुपमा टिजर केन्द्रित छ ।
एकातिर श्रीमती सुरक्षा पन्तको दबाबमा काठमाडौं घर किन्न दयाहाङ राई बैंक-बैंकमा ऋणका लागि भौतारिरहेका छन् । धनाड्य देखिने गरी चिटिक्क परेर बैंक धाउँदा पनि उनीहरुले ऋण पाएका छैनन् । अर्कोतिर काठमाडौंमा घर भएर पनि विपिन कार्की श्रीमती वर्षा राउतसँग लुकाइरहेका छन् । हाँस्यरससहितको १ मिनेट ५८ सेकेन्ड लम्बाईको टिजर इन्टरटेनिङ र इन्गेजिङ छ ।
महेश दवाडीको पटकथा/संवाद रहेको फिल्ममा रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशीलगायतको पनि अभिनय रहेको छ । कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथा देखाउनेछ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौंभित्रै भएको हो ।