images
images

‘माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको अडान

  • ३० भाद्र २०८१, आईतवार १४:५४

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधिसभाको अवरोध कायम राख्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका सांसदहरुको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधिसभाको अवरोध नखोल्ने निर्णय गरेको हो । यसअघि आजै प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामखुसँगको बैठक विना निश्कर्ष टुंगिएपछि माओवादीले थप छलफल गर्न भन्दै पार्टीका सांसदहरुको बैठक बोलाएको थियो ।

त्यसलगत्तै बसेको माओवादी केन्द्रका सांसदहरुको बैठकले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म अवरोध जारी राख्ने निर्णय गरेको हो । माओवादी सांसदहरुले आँफुहरुले उठाएको विषयमा सत्तारुढ दलहरु गम्भीर नभएको बताएका छन् । सभामुखको निर्णय नसच्चिएसम्म प्रतिनिधिसभाको अवरोध नखुल्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादीको अवरोध जारी रहने भएपछि आजका लागि बोलाईएको प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।