काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते गर्न सरकार समक्ष सिफारिस गरेको छ ।
निर्वाचन आयोगका आयुक्त सहितका पदाधिकारीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्थानीय तहको उपनिर्वाचनको मिति मंसिर १६ गते आईतबारलाई तोक्न सुझाव दिएका हुन् । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहितका जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन गरिने भएको छ । ओखलढुंगा र कैलालीमा जिल्ला समन्वय समिति प्रमुखको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त रहेको छ ।
काठमाडौँको कीर्तिपुर नगरपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त रहेको छ । बागमती प्रदेशमा एक गाउँपालिका उपाध्यक्ष र ५ वडाअध्यक्ष पद रिक्त रहेको छ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष सहित काठमाडौँमा ३ वटा वडाअध्यक्ष तथा नुवाकोट र मकवानपुरका एक–एक वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।
रुकुम पूर्वको पुथा गाउँपालिकाकी उपप्रमुखको पनि सवारी दुर्घटनामा मृत्यु भएकाले पद रिक्त भएको औपचारिक जानकारी आएमा सो स्थानमा पनि उपनिर्वाचन हुने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।
निर्वाचन आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गरि प्रकाशन गरेको मितिसम्म कुनै पद रिक्त भएमा सो स्थानमा पनि सोही मीतिमा उपनिर्वाचन गरिने आयोगले जनाएको छ ।