images
images

आनन्ददायक र परोपकार साकोसको साधारणसभा सम्पन्न

  • २८ आश्विन २०८०, आईतवार १९:३८

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–७ भदौरेस्थित आनन्ददायिक बहुउदेश्यीय सहकारी संस्थाले ४० लाख ८८ हजार खुद मुनाफा आर्जन गरेको छ ।

आजबाट सुरु भएको २१ औं वार्षिक साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष प्रेमलाल शिवाकोटीले सहकारीले ४० लाख ८८ हजार १ सय ३८ रुपैँया खुद मुनाफा आर्जन गरेको जानकारी दिनुभयो । संस्थाको कुल पुँजी ३१ करोड १९ लाख ६७ हजार ९ सय ४० रुपैँया र शेयर पुँजी २ करोड २९ लाख ३७ हजार ३ सय रुपैँया रहेको उहाँले बताउनुभयो । आनन्ददायिक बहुउदेश्यीय सहकारी संस्थाको २४ करोड २६ लाख १० हजार २ सय ४७ रुपैँया बचत छ । सो सहकारी संस्थाले २४ करोड ५३ लाख ६१ हजार ४ सय ८० ऋण लगानी गरेको जनाएको छ । संस्थामा ५ हजार ९१ जना शेयर सदस्य, १५ सय ७२ जना बालसदस्यीय र अन्य ४३ जना गरी कुल ६ हजार ७ सय ६ जना सदस्य आवद्ध छन् ।

संस्थाका अध्यक्ष गंगा बहादुर पौडेलको अध्यक्षतामा आयोजित साधारणसभाको प्रदेशसभा सांसद भरत केसीले उद्धघाटन गर्नुभएको थियो । साधारणसभामा संस्थाका सचिव बलराम शिवाकोटीले प्रगति प्रतिवेदन र भावी योजना प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक रन्जित बुढाथोकीले प्रस्तुत गर्नुभएको थियो । आजबाट क्षेत्रगत रुपमा सुरु भएको साधारणसभा कात्तिक २ गते सकिने संस्थाका सुचना अधिकारी कुमार खड्काले जानकारी दिनुभयो । साधारणसभामा राष्ट्रिय सहकारी बैंक दोलखाका शाखा प्रवन्धक यसोदा पौडेल, सहकारीको सञ्चालक समितिका संयोजक गोपाल बहादुर पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

परोपकार साकोसको साधारणसभा

 

परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले १२ करोड बढी ऋण लगानी गरेको छ ।सदरमुकाम चरिकोटमा आज आयोजित १२ औं वार्षिक साधारण सभामा परोपकार साकोसले १२ करोड ४५ लाख ९१ हजार ३९ रुपैँया ऋण लगानी गरेको जानकारी गराएको हो । महिलाहरुले मात्रै सञ्चालन गरिरहेको यो सहकारी संस्थाको कुल पुँजी १४ करोड ९१ लाख २४ हजार ८९ रुपैँया छ । संस्थाको शेयर पुँजी १ करोड ६० लाख २७ हजार ७ सय छ भने १० करोड ६१ लखा ७ हजार ५ सय ८४ रुपैँया बचत छ । परोपकार साकोसमा २ हजार ७२ जना शेयर सदस्य र ४ सय २३ जना बाल बचतकर्ता रहेका छन् ।

साधारणसभामा संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले महिलाहरु मात्तै आवद्ध भई २०६८ साल साउन २९ गतेबाट यो सहकारी संस्थाले कारोवार सुरु गरेको जानकारी दिनुभयो । परोपकार साकोसको कार्यक्षेत्र भीमेश्वर नगरपालिका क्षेत्रभित्र मात्रै रहेको उहाँले बताउनुभयो । यस्तै, संस्थाकी सचिव कल्पना आचार्यले संस्थाको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै परोपकार साकोसले स–साना लगानीलाई प्राथमिकतामा राखेको बताउनुभयो । संस्थाकी कोषाध्यक्ष भवानी खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विगत दु्ई वर्षदेखि कोरोना महामारीको प्रभावका कारण देखिएको आर्थिक मन्दिले ऋण लगानी र असुली कार्य सन्तोषजनक नभएको बताउनुभयो ।

संस्थाकी अध्यक्ष साकोटाको अध्यक्षतामा सम्पन्न साधारणसभाको नेफ्सकुनको सञ्चालक समितिका सदस्य जिवसराज खड्काले उद्धघाटन गर्नुभएको थियो । साधारणसभामा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष जगत प्रसाद सुवेदी, भीमेश्वर नगरपालिकाका वरिष्ठ शाखा अधिकृत नारायण प्रसाद सेढाई लगायको उपस्थिति थियो ।