images
images

सोलुखुम्बु हिँडेका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि मन्थलीमा अलपत्र

  • २९ आश्विन २०८१, मंगलवार १६:०३

रामेछाप । मौसम प्रतिकुल भएपछि सोलुखुम्वुको लुक्ला जान लागेका एक हजार भन्दा बढि पर्यटक रामेछापको मन्थलीमै अलपत्र परेका छन् ।

हवाई उडानमार्फत सोलुखुम्वुको लुक्ला जानका लागि रामेछापको मन्थली पुुगेका १३ सय विदेशी पर्यटक मौसम प्रतिकुल भएपछि दुई दिनदेखि मन्थलीमा अलपत्र परेका हुन् । लुक्लाको मौसम खराब भएपछि रामेछापको मन्थली विमानस्थलबाट दुुई दिनदेखि उडान हुन सकेको छैन । खुम्वु क्षेत्रको खराब मौसमका कारण उडान हुन नसकेपछि मन्थली विमानस्थलबाट लुक्ला जाने पर्यटक अलपत्र परेका हुन् ।

मन्थली लुक्ला उडान प्रभावित बनेपछि सगरमाथा क्षेत्र जाने र आउने विदेशी पर्यटक समस्यामा परेका छन् । मन्थली विमानस्थलबाट हिजो र आज दुवै दिन खराव मौसमका कारण उडान हुन सकेको छैन । मौसम प्रतिकुल भएपछि समिट, तारा र सीता एयरलाईन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहले जानकारी दिनुभयो ।

मन्थलीमा रोकिएका केही पर्यटक सडकमार्गबाटै सोलुखुम्वु सदरमुकाम फाप्लुुतर्फ लागेपनि केही अझै त्यहीँ रोकिएका छन् । केही भने जिरी हुँदै पैदल यात्रा मार्फत सगरमाथा क्षेत्र जान थालेका छन् । मन्थलीमा पर्यटकको सिजनमा दैनिक ५५ देखि ६० उडान हुँदै आएको थियो ।