images
images

विकास र समृद्धिका योजना पुरा गर्न गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आवस्यकः नेता खड्का

  • २९ कार्तिक २०७९, मंगलवार १०:४२

दोलखा । नेकपा माओवादी केन्द्रका युवा नेता एवँ बाम लोकतान्त्रिक गठबन्धन दोलखाका चुनावी कमाण्डर विशाल खड्काले जिल्लाको विकास र समृद्धिकालागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुको विकल्प नभएको बताउनुभएको छ ।

बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री समेत रहेका नेता खड्काले प्रदेश सरकार र हालै निर्वाचित स्थानीय सरकारले सुरु गरेका योजनालाई पूर्णता दिन तथा जिल्लाको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आवस्यक रहेको बताउनुभयो । हाम्रो रेडियोको निर्वाचन विशेष कार्यक्रममा बोल्दै नेता खड्काले पटक–पटक अवसर पाउँदा पनि काम गर्न नसकेको एमालेलाई फेरी अवसर दिनु दुर्भाग्य मात्रै हुने टिप्पणी गर्नुभयो । आफु मन्त्री बनेपछि दोलखामा बहु महत्वका विकास आयोजना सुरु गरेको भन्दै नेता खड्काले ती आयोजनालाई पूर्णता दिन र गठबन्धनले बिजयी हात पारेको स्थानीय सरकारको योजनालाई साथ दिन पनि प्रदेश र प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आवस्यक रहेको धारणा राख्नुभयो ।

धेरै पटक अवसर पाएर पनि ठोस काम गर्न नसकेका कारण आस मारेर दोलखा एमालेका सिनियर नेता चुनावी मैदानमा नआएको नेता खड्काको भनाई छ । एमाले दोलखाका नेता सञ्चार मन्त्री हुँदा जिल्लाको महत्वपूर्ण योजना फिल्म सिटी संघीय सरकारको बजेवाट हट्नु र मन्त्रीकै गृह गाउँमा मोवाईल नेटवर्क समेत चल्ने अवस्था नहुनु दुर्भाग्य भएको उहाँको भनाई छ । आफु मन्त्री भएर बागमती प्रदेश सरकारले जिरी ताललाई प्रदेश गौरवको आयोजनामा समेट्दै ३ अर्व ११ करोड बजेट स्विकृत गर्दा एमाले केन्द्रीय सदस्य एवँ प्रदेशकी पूर्व अर्थमन्त्रीले संसदमा बिरोध गरेर दोलखाली जनताको चाहनाको खिल्लि उडाएको खड्काले बताउनुभयो ।
नर्सरी एउटाको थाँग्रो अर्काको हुन नसक्ने भएकाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन नेता खड्काले अपिल पनि गर्नुभयो ।